काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी र एकीकृत समाजवादीसहित साना दलहरुबीच हुन लागेको एकतालाई एजेन्डा र उद्देश्यहीन भनेका छन्।
प्रेस चौतारीको केन्द्रीय कार्यालयमा पुगेका महासचिव पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गदै एजेन्डाविहीन एकताले कुनै तागत निर्माण नहुने बताए।
उनले भने, ‘विचारमा एकरूपता हुन्छ भने अलग बस्नु पर्दैन। तर विचारमा एकरूपता छैन भने आन्दोलनलाई समाप्त पार्नु हो। के हुन्छ भन्ने भविष्यले देखाउँछ।’
उनले विगतमा पार्टी छाडेर गएकाहरूलाई एमालेमा फर्किन कुनै अनुमति लिनु नपर्ने बताए।
उनले थपे, ‘घर फर्किनका लागि कुनै अनुमति लिनु पर्दैन। आउनुस् तपाईँहरूको योग्यता र क्षमताको आधारमा पार्टीले जिम्मेवारी दिन्छ। तर सर्त एउटै छ, नीति र नेतृत्वमा चाहिँ सहमत भएर आउनुस्। फेरि बहस र विवाद गर्न आउने कुरामा सहमति हुन सक्दैन। नीति र नेतृत्वमा सहमत हुने जोकोहीलाई पनि एमालेको ढोका खुला छ, हामी स्वागत गर्न तयार नै छौँ।’