मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीको सामना गरिरहेको : राष्ट्रपति भण्डारी - Chaitanya News
  • 2026-05-07
  • 09:46:28
  • बिहिबार,बैशाख २४, २०८३
  • मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीको सामना गरिरहेको : राष्ट्रपति भण्डारी

    मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीको सामना गरिरहेको : राष्ट्रपति भण्डारी

    रूपन्देही— राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन्। स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ बिहीबारदेखि बुटवलमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उद्घाटनपछि राष्ट्रपति भण्डारीले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै विस्तार भएको र मुद्रा सञ्चितीमा अभूतपूर्व चाप परेको बताएकी हुन्।

    मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडिबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने भण्डारीको सुझाव छ। ‘अब जडिबुटीजन्य एवं वन पैदावारमा आधारित उद्योग स्थापनातर्फ केन्द्रित हुन र निर्यात बढाउने दिशामा लाग्न म सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्, ‘खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाएर मात्र व्यापार घाटा कम गर्न सकिन्छ।’

    राष्ट्रपति भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थितरुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन्। राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आप्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरुन् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी रहेको पनि उनको भनाइ थियो। यस्ता प्रदर्शनीले उद्योगी, व्यवसायीबीच व्यवस्थापकीय अनुभव आदानप्रदान गर्न र महिला उद्यमीको संख्या वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्।

    राष्ट्रति भण्डारीले बुटवल र भैरहवा नेपालकै अग्रणी औद्योगिक केन्द्रका रुपमा अघि बढेको भन्दै प्रशंसा पनि गरिन्। भण्डारीले प्रदर्शनी एवं महोत्सवहरुले नेपाली उत्पादनको प्रवर्द्धन, उद्योगलाई उत्साह र उपभोक्तालाई सचेत बनाउन पनि सहयोग गरिरहेको भन्दै रुपन्देही उद्योग सघं र लुम्बिनी प्रदेश उद्योग परिसंघले आयोजना गरेको प्रदर्शनीले उद्योगी, उपभोक्ता, विज्ञहरु र सरकारी निकायबीच अन्तर्क्रियाको अवसर पनि सिर्जना गरेको बताइन्।

    संघका अध्यक्ष माधव पौडेलका अनुसार बिहीबारबाट सुरु भएको कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा उद्योग, खाध्यान्न, गार्मेन्ट, कृषि तथा सूचना प्रविधिसहितका ४ सय ५० बढी स्टल राखिएका छन्। प्रदर्शनी पुस १७ गतेसम्म चल्ने छ।