काठमाडौँ– लोक सेवा आयोगले ६ वर्षपछि स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ।
आज (आइतबार) सर्वोच्च अदालतको आदेशपछि सेवा आयोगले ६ वर्षपछि स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो । सब–इञ्जिनियर पदका उम्मेदवार नन्द काशी गुरुङ ६ वर्षपछि स्थायी नियुक्तिका लागि सिफारिस भएकी हुन्। लोक सेवा आयोगले अन्तर्वार्तामा आवश्यक न्यूनतम योग्यता नपुगेको भन्दै गुरुङलाई योग्यताक्रमको सूचीबाट हटाएको थियो।
आयोगको पोखरा कार्यालयले विज्ञापन नं. १२९६१ र ०७५–७६ अन्तर्गत महिला, स्थानीय तह तर्फ इञ्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिस्टेन्ट सब–इञ्जिनियर पदका लागि दरखास्त माग गरेको थियो। गुरुङले दरखास्त पेश गरी लिखित परीक्षा उत्तीर्ण गरेकी थिइन्। उनले २०७६ फागुन १९ गते सञ्चालन भएको अन्तर्वार्तामा समेत भाग लिएकी थिइन्। तर आयोगले न्यूनतम योग्यता नपुगेको भन्दै उनलाई अयोग्य ठहर गरी अन्तिम नतिजाबाट हटाएको थियो।
सो निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। सर्वोच्चले २०८२ साउन ११ गते फैसला सुनाउँदै आयोगलाई अन्तिम नतिजा प्रकाशन गरी गुरुङलाई सब–इञ्जिनियर पदमा स्थायी नियुक्तिका लागि सिफारिस गर्न परमादेश दिएको थियो।
सर्वोच्चको आदेशअनुसार लोक सेवा आयोगले २०८२ कार्तिक १५ गतेको निर्णयबाट लमजुङको क्व्होलासोथार गाउँपालिका–७ की गुरुङलाई सब–इञ्जिनियर पदमा स्थायी नियुक्तिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गण्डकी प्रदेशमा सिफारिस गरेको हो। प्रशासनबाट