काठमाडौँ– नेकपा माओवादी केन्द्रले नेता जनार्दन शर्माले अराजक गतिविधि देखाएको बताएको छ। हिजो (शनिबार) बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता रोक्नुपर्ने लिखित प्रस्ताव पेस गरेका थिए।
बैठकपछि आज सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत सबै नेताले बसेर कुरा सुन्नोस् भन्दा पनि आफ्नो धारणा राखेर हिँडेकोमा असन्तुष्टि पोखे।
‘जनार्दनजीले राम्रो गर्नुभएन। अराजक गतिविधि देखाउनुभयो। हिजोको बैठकमा उहाँले आफ्नो कुरा राख्नुभयो। तर अरूको कुरा पनि सुन्नुहोस् भन्दा बैठक छोडेर हिँड्नुभयो। आज बैठकमै आउनुभएन। त्यसैले उहाँबारे कुनै छलफल भएन’, उनले भने।
देशमा अहिले देखिएको विषम सङ्कटको चुनौतीलाई सामना गर्न बृहत् वामपन्थीबिच एकीकरण हुन लागेको सापकोटाले जिकिर गरे। वामपन्थीबिच एकता र ध्रुवीकरण जेनजी आन्दोलनको भावना विपरीत नभएको उनको भनाइ छ।
‘जेनजी आन्दोलनभन्दा पनि पहिलेदेखि नै हामीले वामपन्थी एकता र ध्रुवीकरणको विषय उठाइराखेका थियौँ। जेनजीको माग सबैभन्दा बढी उठाउने हाम्रो पार्टी हो’, उनले भने, ‘जेनजी भावना विपरित भन्नु गलत छ। जेनजीले उठाएका मागमा सकारात्मक मात्र होइन, उनीहरूको माग र हाम्रो सोच विचार समान छन्।’
पार्टी एकतालाई प्रचण्डको सुरक्षा घेरा मजबुत बनाउन खोजिएको भन्नु गलत भएको उनले बताए। ‘हामीले एकता नभए विशेष महाधिवेशन मङ्सिरमा नै गर्ने निर्णय भएको थियो तर एकता हुने भएपछि छलफल गरेर अर्को मिति तोक्छौँ। त्यसैले नेतृत्वको सुरक्षा घेरा बलियो बनाउन लागिएको आरोप गलत हो’, उनले भने।
यस्तै सापकोटाले सिङ्गो एकीकृत समाजवादी नै एकतामा ल्याउने गरी गृह भइरहेको जिकिर गरे। सापकोटाले २० गते संयुक्त बैठक बसेर एकता घोषणा गर्ने निर्णय भएको जानकारी दिए।