काठमाडौँ– सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा यसै अवसरमा आज कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ।
सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको यस दिवसमा प्रत्येक वर्ष फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना हुँदै आएका छन्। यो दिवस मनाउनुको मुख्य उद्देश्य आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त सहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवर्द्धन गर्नु हो।
विश्व तीव्र गतिमा सहरमुखी बन्दै गएको सन्दर्भमा सहरी क्षेत्रको दिगो विकास अपरिहार्य भएको छ। राष्ट्रसंघको अनुसार हाल विश्वको आधाभन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा केन्द्रित छ।