काठमाडौँ– नेपाल प्रहरीले वरिष्ठ उपरीक्षक (एसएसपी) पदका ६ दरबन्दी रिक्त रहेका छन्।
हालै पाँच जना एसएसपीलाई डीआईजी पदमा बढुवा सिफारिस गरिएपछि पाँच स्थान खाली भएका थिए, भने अर्को एक एसएसपीको राजीनामापछि कुल रिक्त दरबन्दी संख्या ६ पुगेको हो।
डीआईजी बढुवाका लागि सिफारिस गरिएका पाँच जना हुन्( भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले। यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी प्रकाश रानाभाटले बुधबार राजीनामा दिएपछि थप एक पद खाली भएको हो।
बढुवा सिफारिस समितिले अहिले यी रिक्त पदहरू पूर्तिका लागि प्रक्रिया सुरु गरिसकेको छ। डीआईजीहरूलाई औपचारिक रूपमा दर्ज्यानी चिह्न लगाइसकेपछि एसएसपी पदमा बढुवा गर्ने तयारी भइरहेको बताइएको छ।
बढुवा सूचीमा पहिलो नम्बरमा बिमल बस्नेत छन्। उनी २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरी पछि प्रहरी सेवामा स्थानान्तरण भएका अधिकारी हुन्। बस्नेत विगतमा पनि पटक–पटक बढुवा सूचीमा परे पनि असफल हुँदै आएका थिए।
दोश्रो नम्बरमा रामप्रकाश शाह रहेका छन्। उनी पनि २०५५ सालमा राष्ट्रिय अनुसन्धान विभाग हुँदै प्रहरी सेवामा आएका अधिकारी हुन्।
यिनपछि २० माघ २०७७ मा एसपी बनेका अधिकारीहरू भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्याम सिंह चौधरी, नहकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही प्रतिस्पर्धामा छन् ।