काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुने भएकोछ। दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन्।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार बिहीबार कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सीबीच भेट हुनेछ। यता चिनियाँ विदेश मन्त्रालयले पनि ट्रम्प र सीबीचको भेट समय तय भएको पुष्टि गरेको छ। भेट दक्षिण कोरियाको बुसान सहरमा हुनेछ।
चिनियाँ विदेश मन्त्रालयले दिएको जानकारी अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध र आपसी हित जस्ता मुद्दामा कुराकानी हुनेछ।
ट्रम्प र सीबीचको भेटअघि मलेसियामा दुई देशका उच्चाधिकारीबीच भएको वार्ताले व्यापार सम्झौताको ढाँचा तयार गरेको बताइएको थियो।
सात दिने एसिया भ्रमणमा रहेका ट्रम्पले समकक्षी सी सँगको भेटअघि आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘खर्बौँ डलर लिएर अमेरिका फर्किँदै छु। एक फलदायी यात्रा। निकै स्मार्ट, प्रतिभा वान र शानदार नेताहरूसँगको भेट। भोलि चीनका राष्ट्रपति सी सँग भेट हुनेछ। हामी दुवैका लागि यो निकै सानदार भेटवार्ता हुनेछ।’
राष्ट्रपति ट्रम्पले मंगलबार दक्षिण कोरियाका राष्ट्रपतिका तर्फबाट आयोजित भोजमा भाग लिएका थिए। भेटमा दक्षिण कोरियाका राष्ट्रपति लि जे म्युंगले राष्ट्रपति ट्रम्पलाई सुनको विशेष ताज उपहार दिए।
ट्रम्प र सी ले दक्षिण कोरियाको ग्यांग्झूमा आजदेखि सुरु भएको एसिया प्यासेफिक इकोनोमिक कोअपरेशन (एपेक) को शिखर सम्मेलनमा पनि भाग लिनेछन्।