काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला राजनीतिक दलहरूले बोलाएकैले छलफलका लागि गएको बताएका छन्। सांसद पदको शपथ ग्रहणपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा ठूला राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिक विषयवस्तुमा छलफलका लागि बोलाएकाले भेटघाट गर्न गएको बताएका हुन्।
पत्रकारहरूले सरकार गठनका लागि ठूला दलले महत्व नदिएको बरु आफैँले गएर भेट्नु परिरहेको भनी गरेको प्रश्नमा उनले भने, ‘हामी आफैँ गएका होइनौँ। म आफैँ गएको होइन, छलफल गरौँ भनेर दलहरूले भनेकाले छलफल गरेका हौँ ।’
उनले आफूहरू सरकारमा सहभागी हुन इच्छुक नभएको पनि बताएका छन् । ‘हामीले पाएको मत सरकारको नेतृत्व गर्ने, सरकारमा सहभागी हुने मत होइन । तर, हाम्रो उपस्थितिले केही फरक पार्नसक्छ, हाम्रो एजेण्डा सम्बोधन हुन्छ भने हामी सरकारमा सहभागी हुनसक्छौँ’, रविले भने ।
उनले आफूहरू सत्ता गठबन्धन र प्रतिपक्ष एमालेसँग समदूरीमा रहेको पनि बताए । ‘हामी कोहीसँग पनि नजिक र कोहीसँग पनि टाढा छैनौँ । हाम्रो मुद्दा जसले सम्बोधन गर्छ उहीसँग नजिक हुन्छौँ’, उनले भने ।
रविले सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिने, विदेशमा रहेका नेपालीहरूले भोट हाल्ने पाउने, उनीहरूको सामाजिक र राजनीति अधिकार सुनिश्चित हुने, ठेक्कपट्टामा भएको अनियमितता रोक्ने, आम नागरिकहरुले सरकारी कार्यालयबाट चुस्त सेवा पाउनेलगायतका आफूहरूका माग सम्बोधन भएमा सरकारमा सहभागी हुनसक्ने प्रष्ट पारे ।
उनले नागरिकताका विषयमा आफूमाथि उठेका प्रश्नमा सरकार र सम्बन्धित निकाय सबैलाई छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।