मकवानपुर — संवैधानिक जटिलता सिर्जना भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन्। बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिने भएका हुन्। मुख्यमन्त्री पदबाट राजीनामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि चौतर्फी उनको आलोचना भइरहेको छ।
प्रदेश सरकारको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले पाण्डेले शुक्रबार पदबाट राजीनामा बताए। ‘पार्टीको आन्तरिक छलफलको क्रममा उहाँले शपथ ग्रहणपछि राजीनामा दिने भन्नुभएको छ। कानुनले प्रदेशको मुख्यमन्त्रीले प्रतिनिधिसभाको शपथ लिन हुने–नहुने केही भनेको त छैन तर, भोलि आएर उहाँले राजीनामा दिनुहुन्छ,’ खनालले भने।
खनालले मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए। ‘उहाँले राजीनामा दिएपछि प्रदेश प्रमुखले सोहीअनुसार संविधानको मातहत रहेर कदम चाल्नुहुनेछ,’ उनले भने। पाण्डेले ०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए। पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन्।
प्रदेशसभा सचिवालयले सांसदको शपथ, नयाँ अधिवेशनको कार्यसूची तय गर्न शुक्रबार नै सर्वदलीय बैठक आह्वानसमेत गरेको छ।