काठमाडौं– नेपाल र चीनबीच लामो समयदेखि सञ्चालनमा रहेका दुई व्यापारिक नाका रसुवागढी र तातोपानीमा पहिरोले अवरोध गर्दा मुस्ताङस्थित कोरला नाका विकल्पका रूपमा तयार भएको छ।
भन्सार विभागका अनुसारका चालु आर्थिक वर्ष २०८२–८३ पहिलो त्रैमासमा यो नाका हुँदै ५ अर्ब रुपैयाँभन्दा बढीको आयात–निर्यात भएको छ।
मुस्ताङ नाकाबाट ५ अर्ब २७ करोडको वस्तु आयात भएको छ भने ९१ लाख ३२ हजार रुपैयाँ बराबर वस्तु चीन निर्यात भएको छ। यस नाका हुँदै पछिल्ला दिनमा विद्युतीय सवारीसाधन (ईभी), लत्ताकपडा तथा फलफूल आयात उल्लेख्य भएको थियो।
२४ असारका दिन रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्णरूपमा बन्द भएको थियो। तातोपानी नाकामा समेत कोदारी राजमार्गमा आएको पहिरोले लामो समय यातायात बन्द भयो। त्यसपछि नेपाल र चीनले वैकल्पिक नाकाका रूपमा कोरला नाका सञ्चालनमा ल्याएका हुन्। यो नाका ३० भदौदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो।
पूर्णरूपमा सञ्चालनमा आएको यो नाकाले एक महिना अवधिमै ५ अर्ब रुपैयाँभन्दा धेरैको व्यापार गर्न सफल भएको छ। यो नाकामा आशिकुडा प्रणाली सञ्चालनमा आइसकेको छ।
त्यस्तै नेपाल राष्ट्र बैंकले समेत मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग हुँदै प्रतीतपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरेको थियो।
तथ्यांक अनुसार पछिल्लो तीन महिनामा रसुवागढी नाकाबाट ३८ करोड ८१ लाख रुपैयाँ बराबर वस्तु आयात भएको छ। निर्यात भने शून्य देखिन्छ।
निर्यात शून्य रहेको तातोपानी नाकाबाट भने ९ अर्ब ४४ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ। चीनसँगको कुल व्यापार भने आयाततर्फ १ खर्ब ४ अर्ब ८९ करोड र निर्याततर्फ १८ करोड ६४ लाख रुपैयाँ बराबर छ।