कसैले चुनाव भाँड्ने प्रयास नगर्न नवनियुक्त स्वास्थ्य मन्त्री गौतमको आग्रह - Chaitanya News
  • 2026-05-10
  • 01:46:20
  • शनिबार,बैशाख २६, २०८३
  • कसैले चुनाव भाँड्ने प्रयास नगर्न नवनियुक्त स्वास्थ्य मन्त्री गौतमको आग्रह

    कसैले चुनाव भाँड्ने प्रयास नगर्न नवनियुक्त स्वास्थ्य मन्त्री गौतमको आग्रह

    काठमाडौँ– नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी छन्।

    सोमबार काठमाडौँको ट्रमा सेन्टर, शिक्षण अस्पताल र सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूसँगको भेटपछि मन्त्री गौतमले निर्वाचनको वातावरण बनाउन आग्रह गरेकी हुन्।

    शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भीर अवस्था देखिएपछि गहभरी आँसु बनाउँदै मन्त्री गौतमले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरूको ध्यानाकर्षण गराएकी हुन्।

    ‘बिरामीहरूको अवस्था हेर्दा मलाई धेरै गाह्रो भयो। म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु र जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ, त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु,’ उनले भनिन्।

    मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको बताइन्।

    ‘हाम्रो जनआन्दोलनको मर्म कुरीति, बेथितिहरू सबै हट्नू भन्ने थियो। त्यसका लागि आएका सकारात्मक सुझावहरूलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ,’ उनले भनिन्, ‘मैले गरेका कामहरू कति, के भयो भन्ने कुरा म पारदर्शी ढंगले देखाउनेछु।’

    सिनामंगल पुगेकी गौतमले जेनजी आन्दोलनका शहीद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताइन्।

    उनले केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको जानकारी दिइन्। उपचाररत घाइतेमध्ये एक जना महिला रहेकी र उनीमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताइन्।

    त्यहाँ उपचाररत अर्का घाइते भने गोली लागेर उपचाररत रहेको मन्त्री गौतमले जानकारी दिइन्। दुवै घाइतेको अवस्था सुधारोन्मुख रहेको उल्लेख गर्दै उनले भनिन्, ‘यत्रो शहीद र घाइतेको बलिदान खेर जानु हुँदैन। हामी सबै त्यसतर्फ सचेत छौँ। सुशासनको मुद्दा हामीले बिर्सिनु हुँदैन,’ उनले भनिन्।

    उनले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने बताइन्।