बढ्यो अन्तर्राष्ट्रिय व्यापार, आयात–निर्यात दुवैमा छलाङ - Chaitanya News
  • 2026-05-16
  • 22:59:32
  • शनिबार,जेठ ०२, २०८३
  • बढ्यो अन्तर्राष्ट्रिय व्यापार, आयात–निर्यात दुवैमा छलाङ

    बढ्यो अन्तर्राष्ट्रिय व्यापार, आयात–निर्यात दुवैमा छलाङ

    काठमाडौं– नेपालीको मुख्य चाडबाडको मौसममा अन्तर्राष्ट्रिय व्यापारमा उच्च वृद्धि देखिएको छ। चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमास (साउन–असोज)मा अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

    जुन अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा २६.०४ प्रतिशत धेरै हो। सो आवको असोजसम्म ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको मात्र अन्तर्राष्ट्रिय व्यापार भएको थियो। भन्सार विभागका अनुसार यस वर्ष चाडबाडको सिजनमा आयात र निर्यात दुबैमा छलाङ आएको देखिन्छ।

    असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। जुन अघिल्लो आवको तुलनामा १९.७९ प्रतिशत बढी हो। गत आवको असोजसम्म ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात भएको थियो।

    यस वर्ष असोजसम्म निर्यात व्यापार ७२ अर्ब ७८ करोड पुगेको छ। जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ८९.६४ प्रतिशत धेरै हो। गत आवको असोजसम्म ३८ अर्ब ३७ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो।

    आयात निर्यात दुबै बढ्दा अन्तर्राष्ट्रिय व्यापारको आकार बढेको छ। तर, निर्यातमा उच्च वृद्धि हुँदा व्यापार घाटाको वृद्धिदर केही सम्हालिन पुगेको छ। असोजसम्म व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको छ। जुन अघिल्लो आवको तुलनामा १२.१८ प्रतिशतले धेरै हो। गत आवमा ३ खर्ब ५२ अर्ब रुपैयाँ व्यापार घाटा थियो।

    अन्तर्राष्ट्रिय व्यापारमा आयातको हिस्सा ४.९६ प्रतिशतले खस्किएर ८६.५४ प्रतिशत कायम भएको छ। निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशत कायम भएको भन्सार विभागको तथ्यांक छ। असोजमा मात्र १ खर्ब ६३ अर्बको आयात भएको छ। २५ अर्बको निर्यात भएको छ।

    पेट्रोलियम पदार्थ आयात भन्दा कुल निर्यातको अंश माथि:

    नेपालमा सामान्यतया कुल निर्यातले पेट्रोलियम पदार्थको आयात गर्न समेत नपुग्ने स्थिति छ। तर, पहिलो तीन महिनाको तथ्यांकले भने यसमा सुधार भएको देखाएको छ। असोजसम्म नेपालले पेट्रोलियम पदार्थको आयातमा ६६ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ। कुल निर्यात ७२ अर्ब ७८ करोड पुगेको देखिन्छ।

    यस अवधिमा वनस्पती, जीवजन्तुको घिउ–तेलको आयात ४० अर्ब २७ करोड रुपैयाँ बराबर हुँदा निर्यात ३५ अर्ब ३५ करोड रुपैयाँ बराबर भएको छ। इलेक्ट्रिकल मेसिनरी तथा उपकरण र त्यसका पार्टपूर्जाको आयातमा ३४ अर्ब १३ करोड रुपैयाँ विदेसिएको छ।

    फलाम र स्टीलको आयात ३३ अर्ब ५५ करोड रुपैयाँ बराबरको भएको देखिन्छ। सवारी साधनको आयात २९ अर्ब ३३ करोड रुपैयाँ बराबरको भएको छ।

    आयातको पहिलो स्थानमा सोयाविन तेल:

    आयातको पहिलो स्थानमा कच्चा सोयाविन तेल रहेको छ। असोजसम्म नेपालले ३० अर्ब २४ करोड रुपैयाँ बराबरको यस्तो वस्तु आयात गरेको छ। दोस्रो स्थानमा डिजेल रहेको छ। डिजेल आयात २० अर्ब ६९ करोड रुपैयाँ बराबर भएको छ। रासायनिक मल तेस्रो स्थानमा छ। जुन १७ अर्ब ११ करोड रुपैयाँ बराबरको भएको छ।

    पेट्रोल चौथो स्थानमा छ। तीन महिनामा १६ अर्ब ७६ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ। खाना पकाउने एलपीजी ग्याँस १३ अर्ब ९८ करोड रुपैयाँ बराबरको भएको छ। यो अवधिमा स्मार्ट फोन मात्र १३ अर्ब ६२ करोड रुपैयाँ बराबरको भित्रिएको छ । १० अर्ब २५ करोडको सुन आएको छ।

    निर्यातमा समेत सोयाविन तेल पहिलो स्थानमा:

    निर्यातमा समेत पहिलो स्थानमा सोयाविन तेल रहेको छ। असोजसम्म ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएृको छ। कार्पेट दोस्रो स्थानमा छ। जुन २ अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको छ। तेस्रो स्थानमा सुर्यमूखी तेल रहेको छ। जुन २ अर्ब १३ करोड बराबरको भएको छ।

    भारत र चीनसँग धेरै व्यापार:

    अन्तर्राष्ट्रिय व्यापारमा सबैभन्दा धेरै हिस्सा भारत, चीन, अर्जेण्टिना, यूएई र अमेरिकाले ओगटेका छन्। नेपालले भारतबाट २ खर्ब ५८ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ।

    ५९ अर्ब १२ करोडको वस्तु निर्यात गरेको छ। चीनबाट १ खर्ब ४ अर्बको वस्तु आयात गरेको छ। निर्यात १८ करोड ६४ लाख रुपैयाँको मात्र भएको छ। अर्जेण्टिनाबाट २७ अर्ब ८९ करोडको वस्तु आयात भएको छ। जुन अधिकांश तेलको कच्चा पदार्थ हो।