तेस्रो पटक विस्तार गर्दा १२ सदस्यीय बन्यो सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् - Chaitanya News
  • 2026-05-10
  • 01:46:57
  • शनिबार,बैशाख २६, २०८३
  • तेस्रो पटक विस्तार गर्दा १२ सदस्यीय बन्यो सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्

    तेस्रो पटक विस्तार गर्दा १२ सदस्यीय बन्यो सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्

    काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आज (आइतबार) तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले यसअघि भदौ ३० गते र असोज ६ गते मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्।

    भदौ ३० गते रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई मन्त्री बनाएकी कार्कीले असोज ६ गते अनिल कुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई मन्त्री बनाएकी थिइन्।

    आइतबार भने कार्कीले गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, खगेन्द्र सुनार र डा.सुधा शर्मा गौतमलाई मन्त्री नियुक्त गरेकी छन्।

    कार्कीले पहिलो पटक मन्त्रिपरिषद् गठन गर्दा रामेश्वरप्रसाद खनाललाई अर्थ, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास तथा ओम प्रकाश अर्याललाई गृहस कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाएकी थिइन्।

    दोस्रो पटक विस्तार गरेर मन्त्रिपरिषद् ८ सदस्यीय बनाउँदा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री, मदन परियारलाई कृषि तथा पशुपक्षी विकास, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि तथा महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी दिएकी थिइन्।

    आइतबार मन्त्रिपरिषद् विस्तार गर्दा गुप्तालाई युवा तथा खेलकुद, सुनारलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा, डा. शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या र श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले दिएकी छन्। गुप्ता, सुनार र डा. शर्मालाई आफूले सम्हालेका मन्त्रालयको जिम्मेवारी दिएकी कार्कीले श्रेष्ठलाई भने सिन्हाले सम्हालेको मन्त्रालयको जिम्मेवारी सुम्पिएकी छन्।

    अब मन्त्री घिसिङको काँधमा ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय गरी तीन मन्त्रालयको जिम्मेवारी छ। मन्त्री सिन्हाको काँधमा कानुन न्याय तथा संसदीय मामिला र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी छ।

    कार्कीले पहिलो पटक मन्त्री बनाउँदा ओमप्रकाश अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी दिएकोमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा अर्यालबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय खोसेकी थिइन्। आइतबार सिन्हासँग भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी खोसेकी छन्।