काठमाडौँ– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका छन्।
यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी(ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो। उक्त विज्ञापनमा दिवंगत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको थियो।
राष्ट्रपति ट्रम्पले उक्त विज्ञापनलाई ‘नक्कली र भ्रामक’ भन्दै क्यानाडासँगका सबै व्यापार वार्ता दुई दिनअघि नै समाप्त गरेका थिए।
“उनीहरूले त्यो विज्ञापन तुरुन्तै हटाउनुपर्ने थियो, तर उनीहरूले गत रात विश्व शृङ्खलाको समयमा समेत प्रसारण गरे, यो ठगी नै हो”, उनले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममार्फत एसियाली क्षेत्रका प्रमुख नेताहरूसँगको बैठकका लागि लेखे “तथ्यहरूको गम्भीर गलत प्रस्तुतीकरण र शत्रुतापूर्ण व्यवहारका कारण म क्यानडामाथि हाल तिर्दै आएको करमा थप १० प्रतिशत वृद्धि गर्ने आदेश दिन्छु।”
ओन्टारियो प्रान्तको विज्ञापनमा सन् १९८७ मा राष्ट्रपति रेगनले दिएको व्यापारसम्बन्धी रेडियो सम्बोधनका अंशहरू प्रयोग गरिएको थियो। उक्त सम्बोधनमा रेगनले विदेशी आयातमा उच्च भन्सार शुल्क लगाउँदा अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिएका थिए।
रोनाल्ड रेगन प्रेसिडेन्सियल लाइब्रेरीको आधिकारिक वेबसाइटमा उपलब्ध भाषणसँग मेल खाने उद्धरणमा भनिएको छ, “उच्च भन्सार शुल्कले विदेशी देशहरूको प्रतिशोध निम्त्याउँछ र गम्भीर व्यापार युद्धको रूप लिन्छ।”
यसैबीच, रोनाल्ड रेगन फाउन्डेसनले ओन्टारियो सरकारले ‘चयनात्मक अडियो र भिडियो’ प्रयोग गरेको आरोप लगाउँदै कानूनी विकल्पहरूको समीक्षा भइरहेको जनाएको छ।