ओली दम्पतीको लागि गुण्डुमै ‘ओली कुटी’ निर्माण गरिँदै - Chaitanya News
  • 2026-05-16
  • 23:29:03
  • शनिबार,जेठ ०२, २०८३
  • ओली दम्पतीको लागि गुण्डुमै ‘ओली कुटी’ निर्माण गरिँदै

    ओली दम्पतीको लागि गुण्डुमै ‘ओली कुटी’ निर्माण गरिँदै

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली दम्पतीको लागि भक्तपुरको गुण्डुमा आवास निर्माण हुने भएको छ।

    गुण्डुबासीको पहलमा ओली दम्पतीको लागि आवास बन्न लागेको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए।

    ओली दम्पतीको लागि ‘ओली कुटी’ निर्माण गर्न गुण्डुबासीले संकल्प गरेको उनले जानकारी दिए। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते आन्दोलनकारी समूहले आगो लगाएर नष्ट गरेका थिए। अध्यक्ष ओलीले सो घर राज्यको नाममा नामसारी गरिसकेको सो भवनमा महत्त्वपूर्ण पुस्तक तथा ओलीलाई जीवनभरि प्राप्त भएका विभिन्न उपहारहरू संग्रहित थिए।

    सो घरमा भएका अमूल्य सामान तथा मूर्तिहरू लुटपाट गरेर लगिएको अध्यक्ष ओली दम्पतीको भनाइ छ। घर आगो लगाएर पूर्णरुपमा ध्वस्त बनाइएको छ। बस्नेतले टबालकोटमा भवन जलेको ठाउँमा नयाँ भवन नबाउने बताए। अध्यक्ष ओलीको लागि गुण्डुमा नै ‘ओलीकुटी’ निर्माण गर्ने घोषणा उनले गरेका छन्।

    ओली दम्पतीले बस्नेत र एमाले नेताको साथमा बालकोटमा जलेको अध्यक्ष ओलीको घर अवलोकन गरेका छन्। भग्नावशेष बनेको सो भवनको अवलोकन पछि बस्नेले ओलीको लागि गुण्डुमा नै आवासको व्यवस्था गर्ने घोषणा गरेका थिए।

    ‘ओलीकुटी’ निर्माणको लागि आफूले संयोजकको भूमिका निर्वाह गर्ने बस्नेतले जानकारी दिएका छन्। भवन कस्तो बनाउने भन्ने विषयमा सुझाव संकलन गर्न लागिएको बस्नेतले बताएका छन्।