तिहार नजिकिँदै झिनियाँको चटारो, उत्पादनमा भ्याइनभ्याई - Chaitanya News
  • 2026-05-16
  • 23:52:22
  • शनिबार,जेठ ०२, २०८३
  • तिहार नजिकिँदै झिनियाँको चटारो, उत्पादनमा भ्याइनभ्याई

    तिहार नजिकिँदै झिनियाँको चटारो, उत्पादनमा भ्याइनभ्याई

    रामपुर–  यस वर्षको तिहारमा झिनियाँको माग अत्यधिक बढेपछि व्यवसायीहरू उत्पादनमै व्यस्त भएका छन्। मागअनुसार वस्तु पु–याउन नसकिएको उनीहरूको भनाइ छ। चाडपर्वको बेला झिनियाँ बिक्री गरेर व्यवसायीहरूले मनग्य आम्दानी गरिरहेका छन्।

    रामपुर नगरपालिका–५ राङभाङका उद्यमी रुद्रनारायण श्रेष्ठले तिहारमा पछिल्ला वर्षहरूमा दिदीबहिनीहरूले दाजुभाइलाई सगुनका रूपमा झिनियाँ दिने चलन बढेपछि बजारमा माग उच्च रहेको बताए। “उत्पादन गर्न हम्मेहम्मे परेको छ। बिक्रीको चिन्ता छैन, उद्योगमै धमाधम बिक्री भइरहेका छन्,” उनले भने।

    श्रेष्ठले विगत एक दशकदेखि रामपुरमा झिनियाँको व्यापार गर्दै आएका छन्। श्रीमती लक्ष्मी श्रेष्ठ पनि निरन्तर रूपमा उहाँसँगै व्यवसायमा संलग्न छिन्। चाडपर्व नजिकिँदै गर्दा र वर्षा ढिलो सकिएकाले यस वर्ष पहिलेको तुलनामा तयारी गर्न नसकिएको र त्यसैले उत्पादनमा भ्याइनभ्याई भएको उनले बताइन्।

    श्रेष्ठको उद्योगमा हाल छ जनाले रोजगारी पाएका छन्। यो तिहारमा झिनियाँ बिक्रीबाट करिब रु। ६ लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ। यहाँ उत्पादन भएका झिनियाँ पाल्पा, स्याङजा, तनहुँ, नवलपुर, बुटवल, भैरहवा र चितवनलगायत स्थानमा बिक्री भइरहेको छ।

    रामपुर–४ सिर्जनाचोकका उद्यमी विष्णु सारुले पनि यसपटक बजारको माग थेग्न मुस्किल परेको बताए। उनले तीन वर्षदेखि निरन्तर झिनियाँ उत्पादन गर्दै आएका छन्। घरमै खरिद गर्न आउने ग्राहकका कारण बजार धाउन नपर्ने भएको उनले बताए।

    झिनियाँ हाल प्रतिकिलो खुद्रा मूल्य रु. १०० र थोक मूल्य रु. ९० मा बिक्री भइरहेको छ। छोटो समय, कम लगानी र घरमै उत्पादन गर्न सकिने भएकाले झिनियाँ व्यवसायमा आकर्षण बढ्दै गएको छ।

    झिनियाँलाई दिदीबहिनीहरूले तिहारमा दाजुभाइलाई टीका लगाइसकेपछि प्रसादस्वरूप दिने चलन छ। अहिले खाजाका रूपमा पनि यसको प्रयोग बढ्दो छ। विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीजलगायत विभिन्न शुभकार्यमा पनि झिनियाँको प्रयोग हुने गरेको छ।

    पहिले घरायसी प्रयोजनका लागि हातले बनाइने झिनियाँ अहिले बजारमा सजिलै पाइने भएको छ। यसबाट मनग्य आम्दानी हुने भएकाले महिलाहरू पनि यो व्यवसायतर्फ आकर्षित भएका छन्। झट्ट नबिग्रने भएकाले भण्डारण गरेर जुनसुकै समयमा बिक्री गर्न सकिने र यातायात सुविधा पुगेकाले बजार पठाउन पनि सहज भएको उद्यमीहरूको अनुभव छ।

    बिहान साँझ घरधन्दा सकेपछि महिलाहरू दिउँसो झिनियाँ उत्पादनमा लाग्ने गर्छन्। यसले उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाएको छ। चामलको पीठोलाई पकाएर मेसिनमार्फत सुकाएर झिनियाँ तयार गरिन्छ। पहिले तिहारका लागि मात्र उत्पादन हुने झिनियाँ अहिले वर्षभरि नै बिक्री हुने खाजाका रूपमा लोकप्रिय बन्दै गएको छ।