देश ठुलो सङ्कटमा छ : प्रचण्ड - Chaitanya News
  • 2026-05-10
  • 01:47:09
  • शनिबार,बैशाख २६, २०८३
  • काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश धेरै ठुलो सङ्कटमा फसेको बताएका छन्।

    आज (बुधबार) महोत्तरीको गोपालपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

    ुयसअघि थुप्रै आन्दोलन भएको थियो तर यो खालको विध्वंस कहिले भएको थिएन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत ऐतिहासिक धरोहर जलाइएको छ उनले भने।

    उनले शान्ति सम्झौताका लागि सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिए। उनले सबैको असन्तुष्टिलाई सम्बोधनका लागि निर्वाचनमा जानुपर्ने बताए। माओवादीको भूमिका कारण राष्ट्रपति संस्था बचेको समेत उनले बताए।

    जेनजी पुस्ताका अगुवासँग लगातार आफूले छलफल गरेको बताउँदै उनले यो देशको अभिभावको भूमिकामा माओवादी आउने दाबी गरे।

    जेनजीको माग माओवादीले नै पूरा गर्न सक्ने बताउँदै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा माओवादीले नै ल्याएको दाबी गरे।

    माओवादीको जनयुद्ध पनि जेनजीले नै गरेको उल्लेख गर्दै उनले अहिले पनि आफूले पार्टीमा जेनजी पुस्तालाई प्राथमिकतामा राखेको दाबी गरे।

    ुयतिबेला सबै दलले सङ्कटमा छ तर माओवादी सङ्कटमा छैन, यो देशको नेतृत्व माओवादीले नै गर्नुपर्छ भनी बौद्धिक जगतले भनेको छ,प्रचण्डले भने।

    प्रचण्डले विगतमा वाम एकता गरेर दुई तिहाइ बहुमत ल्याएको तर एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण त्यो नटिकेको दाबी गरे। अब फेरि वाम एकताको पहल सुरु भएको बताए।

    प्रचण्डले जिम्मेवारीबाट आफू नभाग्ने तर अध्यक्ष भएर बस्ने सोच आफ्नो नरहेको समेत प्रस्ट पारे। उनले भने, ‘म जिम्मेवारीबाट पन्छिएर बिचैमै भाग्ने मान्छे होइन, तर अध्यक्ष बस्नै पर्छ भन्ने छैन। अध्यक्ष को बन्ने हो,त्यो अगाडि आउनुपर्छ।’