काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुस्मनी लिइरहेको आरोप लगाएका छन्।
आज (बुधबार) जेनजी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।
सरकारले आन्दोलनको क्रममा आपराधिक कार्यमा संलग्नहरूलाई कारबाही नगरेर अर्को मुलुकमा अर्को आन्दोलनको बीजारोपण गरिरहेको उनको आरोप छ।
‘सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रीले हिजो टेलिभिजनमा दिएको अन्तर्वार्तामा बोलेको कुरामा देखिन्छ। दुःख परेकामाथि उहाँको दुष्मनी देखिन्छ,’ अध्यक्ष ओलीले भने, ‘त्यसमा पनि मसँग गृहमन्त्रीको गम्भीर दुष्मनी छ। सरकारले अझै केही गरिरहेको भन्ने गम्भीर आशंका छ। जेनजी आन्दोलनकारीबाट आफैँमाथि दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्धत छ।’
उनले सरकारले आन्दोलनका पीडितहरूलाई न्याय दिलाउनुको सट्टा दुष्मनी साँधिरहेको आरोप लगाए।
सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुमा नरहेको उनको जिकिर छ।
‘आन्दोलनको क्रममा लुटपाट गर्नेहरू वरपरकै थिए। सरकारले पक्राउ गर्ने कुरै छैन। यस्तो आपराधिक क्रियाकलापमा संलग्नहरू विदेशका नभई यही वरपरका थिए,’ ओलीले भने, ‘अहिले पक्राउ गर्न सरकार तयार छैन। झन् पक्राउ परेकाहरूलाई पनि छोडिरहेको छ। उनीहरू कालान्तरसम्म पक्राउ होलान्। सरकारको ध्यान भ्रष्टाचार नियन्त्रणमा छैन।’
जेनजी पुस्ताका अगुवाहरूमार्फत आफैँमाथि दबाब बढाएर आफूसहितका नेताहरूलाई पक्राउ गर्ने मनसाय सरकारमा रहेको उनको आशंका छ।