यी हुँन प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका घाइतेका ५ बुँदे माग - Chaitanya News
  • 2026-05-10
  • 01:46:16
  • शनिबार,बैशाख २६, २०८३
  • यी हुँन प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका घाइतेका ५ बुँदे माग

    यी हुँन प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका घाइतेका ५ बुँदे माग

    काठमाडौँ– जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्री सुशीला कार्कीसँग ५ बुँदे माग राखेका छन्।

    प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका घाइतेले ५ बुँदे माग राखेका हुन्।

    आन्दोलनमा गोली प्रहार गर्नेलाई कारबाही, संविधानको सुधार, आन्दोलनको संरक्षण, भ्रष्टाचारको छानबिन लगायतको माग राखेको प्रधानमन्त्री कार्कीलाई भेट्न पुगेका रुपिन खड्काले बताए। ‘हामीले ५ बुँदे माग सम्बोधन गर्न भनेका छौँ,’ उनले भने।

    उनका अनुसार घाइतेहरूले माग पूरा गर्न सरकारलाई अल्टिमेट दिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन्।

    जेनजी आन्दोलनका घाइतेहरूलाई प्रधानमन्त्री कार्कीले सरकारले पाएको म्यान्डेट अनुसार काम गर्ने प्रतिबद्धता जनाइन्।

    ‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ। प्रक्रियासम्मत ढंगले कानुनी रूपमा तल नपर्ने गरी हामी काम गर्छौँ। हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ,’ उनले भनिन्।

    तोकिएको समयमै चुनाव हुने बताउँदै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको छानबिन गरिने बताइन्। राज्यका निकायहरूले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेको उनको दाबी छ।