हालसम्म ४ लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र - Chaitanya News
  • 2026-05-17
  • 00:54:55
  • शनिबार,जेठ ०२, २०८३
  • हालसम्म ४ लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र

    हालसम्म ४ लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र

    काठमाडौं– चालु आर्थिक बर्षका लागि जम्मा ६ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ।

    किसानलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउने लक्ष्य अनुसार सरकारले आवश्यक प्रबन्ध मिलाएको स्पष्ट पारेको छ। रासायनिक मल आयातका लागि सरकारले २८ अर्ब ८२ करोड १४ लाख बराबर बजेट विनियोजन गरेको छ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार, गत असोज मसान्तसम्म एक लाख ९४ हजार ८५ मेट्रिकटन मल आपूर्तिको चरणमा छ। त्यसमा कृषि सामग्री कम्पनीको यूरिया ३३ हजार ३३८ मेट्रिकटन, साल्ट ट्रेडिङ कर्पोरेशनको ५७ हजार ६७० मेट्रिकटन बराबर छ।

    कृषि सामग्री कम्पनीले यूरिया, डिएपीसमेत गरी जम्मा एक लाख १५ हजार ४०५ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनले ७८ हजार ६८० मेट्रिक टन बराबरको मल आपूर्ति गरेको छ।

    मन्त्रात्रलयका अनुसार, हाल एक लाख आठ हजार ९०८ मेट्रिक टन मल भने मौज्दात छ। त्यसमा कृषि सामग्री कम्पनीमा डिएपी, यूरिया, पोटास समेत गरी कूल ६३ हजार आठ सय मेट्रिक टन र साल्ट्र ट्रेडिङ कर्पोरेशनमा ४५ हजार १०८ मेट्रिक टन बराबर रासायनिक मल मौज्दात छ।

    हिउँदे खेतीलाई पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ। गत साउनदेखि असोज मसान्तसम्म एक लाख ३२ हजार ८०७ मेट्रिक टन मल बिक्री भएको मन्त्रालयले जनाएको छ।