सरकारले गर्‍यो कीर्तिपुर क्रिकेट रंगशाला गुरुयोजना स्वीकृत, लागत १० अर्ब - Chaitanya News
  • 2026-05-28
  • 12:34:13
  • बिहिबार,जेठ १४, २०८३
  • सरकारले गर्‍यो कीर्तिपुर क्रिकेट रंगशाला गुरुयोजना स्वीकृत, लागत १० अर्ब

    सरकारले गर्‍यो कीर्तिपुर क्रिकेट रंगशाला गुरुयोजना स्वीकृत, लागत १० अर्ब

    काठमाडौं– सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको गुरुयोजना स्वीकृत गरेको छ।

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ। गुरुयोजना बमोजिम रंगशाला निर्माण गर्न करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

    सहरी विकासमन्त्री कुलमान घिसिङले रंगशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तर्राष्ट्रिय खेल तथा पर्यटन प्रवर्द्धनमा समेत यसको योगदान उल्लेखनीय हुने देखिएकाले गुरुयोजना स्वीकृत गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको बताए।

    रंगशालाको विकास र आधुनिकीकरण नेपालका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको, अन्तर्राष्ट्रिय खेल खेलाउन सुविधा सम्पन्न क्रिकेट रंगशाला चाहिएकाले गुरुयोजना बमोजिम स्रोत सुनिश्चित गरी निर्माण अगाडि बढाउने निर्णय गरिएको मन्त्री घिसिङले बताए।

    घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा जग्गासम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्यांकनलाई अन्तिम रूप दिने र गुरुयोजना बमोजिम रंगशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको बताए ।

    केही दिनअघि रंगशालाको पहिलो चरणको निर्माणबारे स्थलगत निरीक्षणमा पुगेका मन्त्री घिसिङले गुरुयोजना वमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिने गरी रंगशाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताएका थिए।

    त्रिवि र नेपाल क्रिकेट संघबीचको क्रिकेट मैदान प्रयोग गर्न भएको जग्गा करार सम्झौताको म्याद वैशाख २०८३ मा सकिँदैछ।

    मन्त्रिपरिषद् बैठकले गुरुयोजनालाई आवश्यक जग्गा प्राप्तिका लागि प्रचलित कानुन बमोजिम रंगशालाका रूपमा प्रयोग गर्न त्रिवि तथा युवा खेलकुद मन्त्रालय÷राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

    हाल रंगशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन्। आगामी १ मंसिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) भन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ।