काठमाडौं– कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ। २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा असोजको तुलनामा कात्तिकमा ब्याजदर घटेको हो।
असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२७५५ प्रतिशत विन्दुले घटेको छ।
असोज महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.३७६ प्रतिशत रहेकोमा कात्तिक महिनाका लागि ५.१००५ प्रतिशत कायम भएको छ .।
व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ। ग्लोबल आईएमईले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याजदर ६ प्रतिशत कायम राखेको छ।
असोजको तुलनामा कात्तिकमा १५ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे एनआईसी एसिया, प्रभु, स्टान्डर्ड चार्टर्ड, नबिल, प्राइम कमर्सियल, सानिमा, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स छन्।
५ बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर स्थिर राखेका छन्। स्थिर राखेका बैंकमा नेपाल, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ र कुमारी छन्। कुनै पनि वाणिज्य बैंकले ब्याजदर असोजको तुलनामा कात्तिकका बढाएका छैनन्।
छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन्। व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा कर्जाको ब्याज पनि स्वतः घट्न जान्छ।
बैंकहरुका लगानीयोग्य रकम पर्याप्त रहेको अवस्थामा कर्जा प्रवाहको वृद्धि पनि सुस्त रहेपछि बैंकहरुले ब्याजदर घटाउँदै लगेका हुन्। राष्ट्र बैंकले छोटो अवधिका लागि निक्षेप बोलकबोलमार्फत तरलता खिचिरहेको छ।
हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४।५ प्रतिशत छ। त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ।
व्यक्तिगत मुद्दतीमा बैंकहरूले दिने अधिकतम ब्याजदर:
| बैंक | असोजको ब्याजदर | कात्तिकको ब्याजदर |
| कृषि विकास | ५.०५ | ४.९५ |
| एभरेस्ट | ५.२५ | ५.०० |
| नेपाल | ५.२५ | ५.२५ |
| लक्ष्मी सनराइज | ५.२५ | ५.०० |
| माछापुच्छ्रे | ६.०० | ५.०० |
| एनआईसी एसिया | ६.०० | ५.७५ |
| प्रभु | ५.३५ | ४.९५ |
| स्टान्डर्ड चार्टर्ड | ५.१८ | ५.०० |
| राष्ट्रिय वाणिज्य | ५.५० | ५.५० |
| नबिल | ५.५० | ४.९५ |
| ग्लोबल आईएमई | ६.०० | ६.०० |
| सिद्धार्थ | ५.५० | ५.५० |
| प्राइम कमर्सियल | ५.५० | ५.०० |
| कुमारी | ५.०१ | ५.०१ |
| सानिमा | ५.२५ | ५.१५ |
| हिमालयन | ४.२५ | ४.०० |
| नेपाल एसबीआई | ५.१८ | ५.०० |
| इन्भेस्टमेन्ट मेगा | ५.२५ | ५.०० |
| एनएमबी | ६.०० | ५.०० |
| सिटिजन्स | ५.२५ | ५.०० |