मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री कार्कीको जवाफ, ‘भको भई छ’ - Chaitanya News
  • 2026-05-10
  • 02:42:56
  • शनिबार,बैशाख २६, २०८३
  • मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री कार्कीको जवाफ, ‘भको भई छ’

    मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री कार्कीको जवाफ, ‘भको भई छ’

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीमण्डलले अझैसम्म पूर्णता पाएको छैन।

    दुई पटकसम्म मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनी आफैंले अहिलेसम्म ९ वटा मन्त्रालय सम्हाली रहेकी छन्।

    जसका कारण कार्कीको मन्त्रीमण्डलले कहिले पूर्णता पाउँछ भन्ने सर्वत्र चासो छ। जसका कारण मन्त्रीमण्डलले पूर्णता नपाउँदा खाली रहेका मन्त्रालहरू मन्त्रीविहीन छन्।

    यही चासोका बीच बिहीबार सिंहदरबार परिसरमा एक पत्रकारले जिज्ञास राख्न भ्याइहाले( प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ? तर प्रधानमन्त्री प्रश्नको जवाफ दिन अडिएनन्, उनले हिंड्दा हिंड्दा जवाफ फर्काइन् मन्त्रिपरिषद् विस्तार ‘भको भई’ छ।

    २३ र २४ भदौको जेनजी आन्दोलनपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

    प्रधानमन्त्री बनेको ३ दिनपछि अर्थात ३० भदौमा पहिलोपटक उनले मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्। त्यतिबेला उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई मन्त्रीमा नियुक्त गरेकी थिइन्।

    त्यसपछि ६ असोजमा उनले दोस्रो पटक ४ मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्।

    पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, तात्कालीन राज्य पुनर्संरचना आयोगका संयोजक मदन परियार, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र पत्रकार जगदीश खरेललाई मन्त्री नियुक्त गरेकी थिइन्।

    कार्कीले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैं सम्हाली रहेकी छन्।