डा. अर्यालको नियुक्ति अन्य सरह नै दक्षता र क्षमताका आधारमा गरिएको स्पष्ट, तलब १० हजार मात्रै - Chaitanya News
  • 2026-05-17
  • 03:53:04
  • शनिबार,जेठ ०२, २०८३
  • डा. अर्यालको नियुक्ति अन्य सरह नै दक्षता र क्षमताका आधारमा गरिएको स्पष्ट, तलब १० हजार मात्रै

    डा. अर्यालको नियुक्ति अन्य सरह नै दक्षता र क्षमताका आधारमा गरिएको स्पष्ट, तलब १० हजार मात्रै

    काठमाडौँ– नेपाल वायुसेवा निगमले डा. अस्मिता अर्यालको नियुक्ति कुनै दबाब वा प्रभावमा नभई अन्य चिकित्सकहरू सरह नै पेशागत विज्ञता, दक्षता र क्षमताका आधारमा गरिएको स्पष्ट पारेको छ।

    आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चार माध्यमहरूले प्रकाशित गरेको समाचार भ्रामक, असत्य र तथ्यविहीन भएको बताउँदै यथार्थ विवरण सार्वजनिक गरेको हो।

    विज्ञप्तिअनुसार, नेपाल वायुसेवा निगमले सन् १९७० को दशकदेखि नै आफ्ना कर्मचारी र उनीहरूको परिवारका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। यसका लागि निगमले क्लिनिक सञ्चालन गर्दै आएको र त्यहाँ विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरूलाई आवश्यकता अनुसार सेवा प्रदान गर्न अस्थायी रूपमा नियुक्त गर्दै आएको स्पष्ट पारेको छ।

    निगमका अनुसार, हाल क्लिनिकमा विभिन्न विषयगत क्षेत्रका नौ जना चिकित्सकहरूले हप्तामा तीन दिनसम्म सेवा प्रदान गर्दै आएका छन्। ती चिकित्सकहरूलाई संस्थाको दररेटअनुसार प्रतिहप्ताको अधिकतम रु.१० हजार मात्र पारिश्रमिक दिइने व्यवस्था रहेको निगमले जनाएको छ।

    विज्ञप्तिमा भनिएको छ, “डा.अस्मिता अर्याललाई कसैको दबाब वा प्रभावमा नभई अन्य चिकित्सकहरू सरह नै दक्षता र क्षमताका आधारमा सेवा लिन नियुक्त गरिएको हो।” निगमले अर्याललाई स्थायी रूपमा नियुक्त गरिएको भन्ने समाचारहरू पूर्ण रूपमा निराधार र भ्रम फैलाउने खालका रहेको जनाएको छ।

    निगमले राष्ट्रिय ध्वजावाहक संस्थाका रूपमा आफ्ना चिकित्सकहरूको पेशागत योगदान र सेवा भावनालाई सम्मान गर्दै आएको र न्यून पारिश्रमिकमा क्लिनिक सेवामा खटिरहेका चिकित्सकहरूको मनोबल घटाउने गरी भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराएको छ।