काठमाडौं– संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका छन्। प्रवक्ता पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्ने गरी कानूनमा व्यवस्था भएकाले सोही अनुसार संसद् सचिवालयले एजेण्डाहरू अघि बढाउने बताए।
उनले संसद् भवनमा १ बजेका लागि नवनिर्वाचित सांसदहरूको शपथग्रहण हुने बताए। उनले बानेश्वरको आईसीसी हलमा सांसदहरूको शपथग्रहण ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले गराउने बताए। उनले मातृभाषामा शपथग्रहण गर्न चाहने सांसदहरूले पूर्वसूचना दिएपछि मात्रै मातृभाषामा शपथग्रहण गराइने बताए।
‘आज मात्रै प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथग्रहण गरेका छन। भोलि १ बजे हामीले सम्पूर्ण प्रतिनिधि सभाका मान्य सदस्यज्युहरूको लागि शपथग्रहण कार्यक्रम बानेश्वरको आईसीसी हलमा आयोजना गरेका छौँ। यसको लागि ज्येष्ठ सदस्यले भोलि १ बजे शपथग्रहण गराउनु हुनेछ। यो बीचमा उहाँहरूले प्रमाणपत्र ल्याएर भेरिफिकेशन गर्ने काम रहन्छ, उहाँहरूलाई हामी लोगो उपलब्ध गराउँछौँ। त्यसपछि उहाँहरू कार्यक्रम सभास्थलमा प्रवेश गर्नुहुन्छ। हामीले शपथ–ग्रहणका लागि नेपाली भाषामा लेखिएको प्रमाणपत्रको शपथको व्यहोरासहितको पत्र हामीले उहाँहरूलाई उपलब्ध गराउनेछौँ’, उनले भने, ‘त्यसपछि शपथग्रहणको लागि पूर्व सूचना दिएर मातृ भाषामा शपथग्रहणका लागि अनुवाद गरेर उहाँहरूले आफ्नो भाषामा ल्याउनुभएको छ। त्यसलाई पनि हामीले समावेश गर्नेछौँ। मान्यज्युहरूले आफ्नो मातृभाषामा पनि शपथग्रहण गर्न सक्नुहुन्छ। शपथ ग्रहणपछि मान्य सदस्यहरूले संसदीय गतिविधिहरूमा औपचारिक रुपमा अघि बढ्न सक्नुहुनेछ। राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्नेगरी कानूनमा व्यवस्था भएको हुनाले त्यहीअनुसार एजेण्डा अघि बढ्छ।’