काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ३५ अर्ब रुपैयाँ उठाउने भएको छ। बजारमा अत्यधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो।
बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ। घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
सावाँ तथा ब्याज भुक्तानी आगामी कात्तिक २ गते तोकिएको छ। यसको ब्याज दरसमेत बोलकबोलको माध्यमबाट हुनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलनको बोलकबोल ब्याज दरमा गर्नुपर्ने छ। बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिनेछ।
निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। यसरी खरिद गरिएको निक्षेप सङ्कलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ।