काठमाडौँ– विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन वाशिंगटन डिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मंगलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाएका छन्।
मंगलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गरेका थिए। उक्त भेटको अवसरमा द्विपक्षीय व्यापार र करका नीतिहरूका बारेमा छलफल भएको थियो। उक्त छलफल उपयोगी भएको यहाँस्थित राजदूतावासले जनाएको छ। उक्त भेटका अवसरमा अमेरिका तथा नेपालका अधिकारीहरूको सहभागिता रहेको थियो।
त्यसैगरी, मंगलबार नै मन्त्री खनालले विकासका लागि साउदी फण्डका अध्यक्ष अब्दुल रहमान अल मर्सदसँग सहकार्य गर्नेसम्बन्धी विषयमा छलफल गरेका थिए। यस अगाडि उनले नेपालको विकासमा साझेदारी गर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरूसँगसमेत छलफल गरेका थिए।
भेटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोक दर्शन रेग्मी, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा अन्य कर्मचारीको समेत सहभागिता थियो।