नेपाल पत्रकार महासंघको साधारणसभा पुस ८ र ९ मा - Chaitanya News
  • 2026-06-03
  • 20:41:40
  • बुधबार,जेठ २०, २०८३
  • नेपाल पत्रकार महासंघको साधारणसभा पुस ८ र ९ मा

    नेपाल पत्रकार महासंघको साधारणसभा पुस ८ र ९ मा

    काठमाडौं– नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको साधारणसभा ८ र ९ पुसमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुन लागेको छ।

    कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आथित्यतामा सुर्खेतको वीरेन्द्रनगरमा साधारणसभा आयोजना गर्न लागिएको हो। कार्यक्रमका लागि विभिन्न समिति र उपसमितिहरू निर्माण गरी तयारीमा लागेको महासंघले जनाएको छ।

    अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ। साधारणसभाको उद्घाटनसत्र ८ पुस बिहान ९ बजे हुनेछ भने त्यसअघि बिहान ८ बजे वीरेन्द्रनगरको मंगलबढी चोकबाट प्रभातफेरी निकालिने छ।

    साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने महासंघका केन्द्रीय महासचिव रोशन पुरीले जानकारी दिए। महासचिवले पेस गरेको महासंघको सांगठनिक नीतिगत प्रतिवेदन, कोषाध्यक्षले पेस गर्ने आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकको प्रतिवेदनमाथि बृहत् छलफल समेत हुने जनाइएको छ।

    एक हजार तीन सय १६ साधारण सदस्य रहेकोमा यस अधिवेशनमा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एसोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा र एन्जा) का पदाधिकारी सदस्य गरी सात सय ५० राष्ट्रिय परिषद सदस्यको सहभागिता हुने महासचिव पुरीले जनाए।