राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने - Chaitanya News
  • 2026-05-10
  • 03:50:05
  • शनिबार,बैशाख २६, २०८३
  • राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने

    राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने

    काठमाडौँ– राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने तयारी अगाडि बढेको छ।

    राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका थिए। त्यसबेला आयोगका आयुक्तहरूले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी रहेको जानकारी गराएका थिए।

    प्रधानमन्त्री सुशीला कार्कीले पनि निर्वाचन आयोगका आयुक्तहरूसँग यही असोज २१ गते छलफल गरेकी थिइन्।

    सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त डा. जानकीदेवी तुलाधर र सगुन शमशेर जबरा उपस्थित थिए।

    आइतबार प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच नै छलफल भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा भएको भेटमा राष्ट्रिय सभा निर्वाचनको तयारीको विषयमा छलफल भएको थियो। जहाँ अध्यक्ष दाहालले निर्वाचन आयोगका आयुक्तसँगको भेटबारे पनि जानकारी गराएका थिए।

    आगामी फागुन २० गते कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन्। कार्यकाल सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। यसकारण माघ दोस्रो साताभित्र निर्वाचन गरिसक्नुपर्ने बाध्यतामा निर्वाचन आयोग छ।

    अध्यक्ष दाहालका अनुसार राष्ट्रिय सभाको निर्वाचन समयमै गर्ने कुरामा प्रधानमन्त्री कार्की सकारात्मक छन्। दाहालका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनमा जेनजीको सहभागिता गराउने विषयमा चासो राखेकी थिइन्।

    राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता हुन्छन्। यो व्यवस्थामा जेनजीले मतदान गर्न पाउने भन्ने छैन। अध्यक्ष दाहालले निर्वाचनको मतदाताबारे राजनीतिक दलहरूसँग छलफल गर्न सकिने सुझाव दिएका छन्।

    भोट हाल्ने स्थानीय तहका प्रमुख र उपप्रमुख अनि प्रदेश सभाका सांसदहरू भएकाले थप छलफल राजनीतिक दलहरूसँग कुरा गर्न सकिने सुझाव दिएको दाहालले बताएका छन्।

    आगामी फागुन २० मा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन्। त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनीत सांसद बामदेव गौतमको कार्यकाल सकिँदै छ। राष्ट्रपतिबाट मनोनीत सांसदको कार्यकाल सकिएपछि राष्ट्रपतिले अर्को सदस्य मनोनीत गर्छन्।

    बाँकी रिक्त हुने १८ स्थानका लागि चुनाव गर्ने प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाकै अध्यक्ष दाहालसँग छलफल गरेका हुन्।

    आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन्।

    आगामी फागुनमा बिदा हुने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बिसी छन्।

    बिदा हुने माओवादी सांसदहरूको सङ्ख्या ७ छ। जसमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन्।

    एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिने छ।