काठमाडौँ– अर्थ मन्त्रालयले सरकारी कार्यालयहरूलाई पुनर्निर्माण कार्ययोजना तयार पार्न सर्कुलर गरेको छ।
गत २४ भदौमा देशभरिका विभिन्न सरकारी तथा सार्वजनिक भवनमा तोडफोड र आगजनी भएका थिए। सिंहदरवारभित्र रहेका भवनहरूमा समेत तोडफोड र आगजनी भएको थियो। सर्वोच्च अदालत, जिल्ला अदालत, विशेष अदालत लगायतका संरचना समेत ध्वस्त भएको छ।
संघीय संसद् भवनको रूपमा प्रयोग हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र समेत जलेको छ।
अर्थ मन्त्रालयले पुनर्निर्माण कार्ययोजना बनाउन संघीय संसद् सचिवालयमा समेत सर्कुलर पठाएको छ। यो विषयमा गत शुक्रबार सभामुख देवराज घिमिरे सहितको उपस्थितिमा प्रशासनिक बैठक बसेको थियो।
संसद् सचिवालयका अनुसार पार्किङमा रहेका १९ वटा गाडीमा क्षति भएको छ। ३६ वटा मोटरसाइकलमा क्षति भएको छ भने दुई वटा मोटरसाइकल हराएको छ।