फेक कन्टेन्टहरूको नियम र नियन्त्रणमा सशक्त बन्न प्रेस काउन्सिललाई सञ्चार मन्त्री खरेलको आग्रह - Chaitanya News
  • 2026-05-17
  • 06:02:53
  • आइतबार,जेठ ०३, २०८३
  • फेक कन्टेन्टहरूको नियम र नियन्त्रणमा सशक्त बन्न प्रेस काउन्सिललाई सञ्चार मन्त्री खरेलको आग्रह

    फेक कन्टेन्टहरूको नियम र नियन्त्रणमा सशक्त बन्न प्रेस काउन्सिललाई सञ्चार मन्त्री खरेलको आग्रह

    काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमार्फत आतंक मच्चाउने ढंगले प्रवाह भइरहेका फेक कन्टेन्टहरूको नियम र नियन्त्रणमा प्रेस काउन्सिललाई सशक्त बन्न सुझाएका छन्।

    प्रेस काउन्सिल नेपालको भ्रमणमा गएका मन्त्री खरेलले आवश्यक जनशक्ति थपेर टास्क फोर्स नै गठन गरेर भने पनि फेक कन्टेन्टहरूको नियमन गर्नुपर्ने बताए।

    मन्त्री खरेलले भने, ‘के भयो भने यो विकृति र विसंगतिलाई अनुगमन, नियमन र कानूनको दायरमा ल्याउन सक्छौँ ? यसबारे काउन्सिलले भनोस्। अहिले २० हजार वटा सोसल मिडियाका प्लेटफर्महरू सञ्चार माध्यमार्फत सञ्चालित छन्। अधिकांश आउट अफ ट्र्याक गएका हुन् कि भन्ने पनि देखिन्छ। सामाजिक सञ्जालमा हेर्‍यो भने हुँदै नभएका एआई जेनेरेटेड कन्टेटहरुले मान्छेलाई भ्रमित बनाइरहेको छ। गलत नहोस् भन्नका लागि हामी अनुगमन,नियमन र कारवाहीको दायरमा ल्याउन गम्भीर बन्नुपर्छ।’

    अहिलेको सरकार ६ महिनाका लागि आएकाले लोकरिझ्याइका लागि काम नगर्ने भन्दै मन्त्री खरेलले प्रेस काउन्सिलले स्वायत्त र स्वतन्त्र ढंगले काम गर्नुपर्ने बताएका छन्।

    मन्त्री खरेलले नागरिकले प्रयोग गर्ने व्यक्तिगत सामाजिक सञ्जालका प्लेटफर्महरूको अनुगमन राज्यका अरू निकायले गर्ने र कारवाहीको दायरामा ल्याउने भन्दै काउन्सिलले मिडियाले चलाउने सामाजिक सञ्जालको अनुगमन,नियमन र कारवाही गर्नुपर्ने बताए। उनले यसका लागि एक साताभित्र काम गर्न पनि निर्देशन दिएका छन्।