कठमाडौं– नेपाली कांग्रेसका दुवै महामन्त्रीले भावी सरकारमा जिम्मेवारी नलिने बताएका छन्।
कांग्रेस संसदीय दलको निर्वाचनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री नबन्ने बताएका हुन्।
थापाले प्रधानमन्त्री बन्ने उद्देश्यसहित कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए। थापा देउवासँग पराजित भएका छन्। उनले नयाँ बन्ने सरकारमा मन्त्री नबन्ने स्पष्ट पारेका छन्।
अर्का महामन्त्री शर्माले पनि नयाँ सरकारमा मन्त्री बन्नेतिर आफ्नो ध्यान नरहेको बताए। महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएको वर्ष दिन मात्रै भएकाले आफ्नो पहिलो प्राथमिकता पार्टीलाई सुसंगठित गर्नु रहेको उनको भनाइ छ।