रुपन्देही– रुपन्देहीको सिदार्थनगर नगरपालिकाले सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ। नगरपालिकाले नगर क्षेत्रभित्रका किराना र पान पसलमा पाइने गुट्खा प्रकृतिका सूर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाएको हो।
यसको सेवनले जनस्वास्थ्यमा प्रतिकूल असर पार्नुको साथै त्यसबाट निस्किने फोहोरले नगरको सौन्दर्यतासमेत बिगारेकाले बिक्री वितरणमा रोक लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडे्यालले बताए।
उनकाअनुसार व्यवसायीलाई यस्ता हानिकारक वस्तुको बिक्री रोक्न ३५ दिनको म्याद दिइएको छ। सो अवधि पश्चात् पनि ती वस्तु बेचेको पाइएमा प्रत्येक पटक पाँच हजार रुपैयाँ जरिवाना तिराउने चेतावनी नगरपालिकाको छ।
नगरपालिकाको कार्यपालिकाको बैठकले सूर्तीजन्य पदार्थको बिक्री वितरणको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सिदार्थनगरलाई सफासुन्दर र हरियालीयुक्त शहर बनाउन उल्लेखित वस्तुमा प्रतिबन्ध लगाएको बताइएको छ।