काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको समय, बदलिएको सोच बमोजिम कांग्रेसलाई आन्तरिक रुपान्तरणको दिशा लैजानुपर्ने बताएका छन्। मंगलबार काठमाडौँको एक होटलमा संस्थापनइतर समूहको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।
उनले बदलिएको समय, बदलिएको सोच बमोजिम कांग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा जाने गर्व र खुड्किलोको रुपमा पार्टीका नेता डा. शेखर कोइरालाले युवामा सत्ता पुस्तान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेताको रुपमा प्रस्ताव गर्नु गर्वको विषय भएको बताए।
उनले संसदीय दलको नेता बनिसकेर देशलाई नेतृत्व गर्ने भन्ने आकांक्षा सबैमा हुने गरेको भन्दै सत्ता पुस्तान्तरणको पहिलो खुड्किलो डा. कोइरालाले गरेको बताए।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीले बदलिएको समय, बदलिएको सोच बमोजिम कांग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा जाने गर्व र खुड्किलोको रुपमा महशुस गरेको छु। संसदीय दलको नेता बनिसकेर देशलाई नेतृत्व गर्ने भन्ने आकांक्षा सबैमा हुन्छ नै। यसमा महत्वपूर्ण भूमिका डा.शेखर कोइरालाले निभाउनुभएको छ। उहाँले जुन प्रस्ताव पछिल्लो पुस्तालाई गर्नुभएको छ।’
कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्।
देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपाध्यक्ष पूर्णबहादुर खड्का रहेका छन्। यस्तै, महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोइराला तथा समर्थकमा उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल रहेका छन्।