निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न नसकेको ओलीको आरोप - Chaitanya News
  • 2026-05-07
  • 07:47:26
  • बिहिबार,बैशाख २४, २०८३
  • निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न नसकेको ओलीको आरोप

    निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न नसकेको ओलीको आरोप

    काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

    अध्यक्ष ओलीले बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहो¥याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको आरोप लगाए। नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मरेका मान्छेहरुले समेत मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउन नदिएर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकीर गरे।

    उनले आगामी दिनमा निर्वाचन आयोगका त्यस्ता गतिविधिहरुलाई रोक्नैपर्ने बताए। उनले भने, ‘निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरुको समेत भूमिका निष्पक्ष, प्रभावकारी हुन सकेन। कानुनसम्मत र कर्तव्यनिष्ठ भूमिका पूरा गरे त्यस्ता निकायहरुले भन्ने अवस्था रहेन। धाँधली भएका ठाउँमा, बुथ क्याप्चर भएका ठाउँमा सबैलाई थाहा छ–बुथ क्याप्चर भएको छ। प्रमाणहरु छन। तर दोहो¥याएर निर्वाचन गरिएन। जे भएको छ, त्यही गन्ने भनियो। नेपालजस्तो ठाउँमा ९८ प्रतिशत, ९९ प्रतिशत निर्वाचनमा भोट खस्नु, मरेका मानिसले भोट हाल्नु, विदेश भएकाले भोट हाल्नु जस्ता कुराहरु भए। देख्नुपर्ने ठाउँबाट ती देखिएन। नदेखैझैं गरियो। यो वास्तवमै दुखद कुरा हो। र, यदि आगामी दिनमा मैले यो कुराको किन चर्चा गरेको हुँ भने आगामी दिनमा पनि यदि हामीले यस्ता अलोकतान्त्रिक, अवाञ्छित क्रियाकलापहरुलाई, गैरकानुनी क्रियाकलापहरुलाई रोक्ने सकेनौं र यस्तै कुरा भईरहने हो भने लोकतन्त्र भन्ने कुराको के अर्थ हुन्छ? लोकतान्त्रिक अभ्यास र निर्वाचन भन्ने कुराको के अर्थ हुन्छ? बुथ कब्जा नै गर्ने हो भने। त्यसकारण यस्ता कुराहरुप्रति हामी सजग हुनु र रोक्नु जरुरी हुन्छ।

    यदि यस्ता कुराहरुलाई रोक्न सकिएन भने जनताको विश्वास लोकतान्त्रिक अभ्यासप्रति वितृष्णा बढदै जान्छ। र, विस्तारै प्रणालीप्रति नै यो विश्वास कमजोर हुँदै जान्छ। यस्ता प्रवृत्तिहरुलाई नरोक्ने हो भने। यस्ले विस्तारै विस्तारै अभ्यासलाई मात्रै होइन् प्रणालीप्रतिकै विश्वास हटाई दिने, प्रणालीलाई नै अलोकप्रिय बनाई दिने र असफल बनाई दिने हुन्छ।’

    कार्यक्रममा ओलीलाई सबैभन्दा धेरै लोकप्रिय मत ल्याएको भन्दै सम्मान समेत गरिएको थियो।