सुदूरपश्चिममा चाडपर्व सुरक्षा योजना, ५ हजार ७७ प्रहरी परिचालन - Chaitanya News
  • 2026-05-17
  • 13:59:08
  • आइतबार,जेठ ०३, २०८३
  • सुदूरपश्चिममा चाडपर्व सुरक्षा योजना, ५ हजार ७७ प्रहरी परिचालन

    सुदूरपश्चिममा चाडपर्व सुरक्षा योजना, ५ हजार ७७ प्रहरी परिचालन

    धनगढी– सुदूरपश्चिम प्रदेशमा दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदेश प्रहरी कार्यालय, धनगढीले विशेष सुरक्षा योजना लागु गर्दै ५ हजार ७७ जना प्रहरी कर्मचारी परिचालन गरेको छ।

    ‘जेनजी’ पुस्ताको विरोध प्रदर्शनका क्रममा विभिन्न जिल्लाका कारागारबाट ठुलो संख्यामा कैदीबन्दी फरार भएकाले यस वर्ष सुरक्षा चुनौती थपिएको निष्कर्षसहित प्रहरीले फरक रणनीति अपनाएको छ।

    प्रदेश प्रहरी कार्यालयका अनुसार, चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा रोकथामका लागि प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमाण्डमा विशेष टोली खटिनेछ। यसैगरी, प्रदेशका नौ वटै जिल्लामा सम्बन्धित जिल्लाका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा सुरक्षाकर्मी परिचालन हुनेछन्।

    प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटका अनुसार, चाडपर्वमा हुन सक्ने सम्भावित घटना र दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा जाँचमा विशेष कडाइ गरिनेछ। मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि पनि प्रहरीले निगरानी बढाउनेछ।

    कारागारबाट कैदीहरू भागेका कारण सुरक्षा चुनौती बढेकाले भारतसँग सीमा जोडिएका क्षेत्रहरूमा विशेष निगरानी बढाइने उनले बताए।

    भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा सीमा क्षेत्रमा हुने आवतजावतलाई कडाइका साथ जाँच गरिने प्रहरी वरिष्ठ उपरीक्षक रानाभाटले जानकारी दिए। फरार रहेका कैदीबन्दीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयहरूलाई निर्देशन (सर्कुलर) जारी गरिएको पनि उनले बताए।

    यसका साथै, चाडपर्वमा घर फर्किने तथा एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रीहरूको सुविधाका लागि प्रदेशभरि ६५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यी सहायता कक्षमा २०९ जना प्रहरी कर्मचारी खटिएर यात्रुलाई आवश्यक सहयोग प्रदान गर्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।