चैतन्य एकेडेमी बुटवल शाखाद्वारा संविधान दिवसको अवसरमा ‘संविधान संवाद’ कार्यक्रम सम्पन्न - Chaitanya News
  • 2025-11-08
  • 11:40:13
  • शनिबार,कार्तिक २३, २०८२
  • चैतन्य एकेडेमी बुटवल शाखाद्वारा संविधान दिवसको अवसरमा ‘संविधान संवाद’ कार्यक्रम सम्पन्न

    चैतन्य एकेडेमी बुटवल शाखाद्वारा संविधान दिवसको अवसरमा ‘संविधान संवाद’ कार्यक्रम सम्पन्न

    बुटवल- औं संविधान दिवस–२०८२ को अवसरमा चैतन्य एकेडेमी बुटवल शाखाले शुक्रबार ‘संविधान संवाद’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम बुटवलको देविनगरस्थित एकेडेमीको परिसरमा आयोजना गरिएको थियो।

    कार्यक्रमको अध्यक्षता चैतन्य एकेडेमी बुटवल शाखा प्रमुख दिपक ढकालले गर्नुभयो। प्रमुख अतिथिका रूपमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका सह–सचिव सन्तोष आचार्य तथा विशेष अतिथिका रूपमा मानव अधिकार आयोगका अधिकृत सागर पोखरेल र सुरक्षित नेपालका अध्यक्ष कृष्णप्रसाद बेल्बासे उपस्थित रहनुभएको थियो।

    सह–सचिव आचार्यले संविधानलाई केवल कागजमा लेखिएको दस्तावेजको रूपमा नभई नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको व्यवहारिक दस्तावेजको रूपमा बुझ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। “शिक्षा, स्वास्थ्य, रोजगारी, समानता र अभिव्यक्ति स्वतन्त्रता संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार हुन् तर तिनीहरूको प्रभावकारी कार्यान्वयन अझै आवश्यक छ,” उहाँले भन्नुभयो।

    विद्यार्थीसँगको अन्तरक्रियामा उहाँले संविधानको अध्ययन केवल लोकसेवा तयारीको लागि नभई जीवनभर नागरिक चेतना जागृत गराउने माध्यम भएको बताउनुभयो। “लोकसेवा पास गर्नु मात्रै सफलता होइन, संविधान बुझ्ने, प्रयोग गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने सामथ्र्य नै वास्तविक सफलता हो,” आचार्यको भनाइ थियो।
    शाखा प्रमुख दिपक ढकालले संविधानप्रति जागरुकता फैलाउन विद्यार्थीहरूमा संस्कार बसाल्नुपर्नेमा जोड दिनुभयो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई व्यवहारिक रूपमा सचेत नागरिक बन्न प्रेरणा दिने बताउँदै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन शेषकान्त अर्यालले गर्नुभएको थियो।

    यस अवसरमा लोकसेवा आयोगमा सफलता हासिल गरेका विद्यार्थी वसन्त गिरीलाई विशेष सम्मान गरिएको थियो। हाल गिरी भैरहवा यातायात व्यवस्था कार्यालयमा प्रशासन सहायक (चौथो तह) मा कार्यरत छन्। यसअघि पनि चैतन्य एकेडेमीका दुई विद्यार्थी लोकसेवा सेवामा प्रवेश गरिसकेका छन्।

    कार्यक्रम विशेषगरी लोकसेवा तयारीमा जुटेका विद्यार्थीहरूलाई लक्षित गरिएको थियो। सहभागी विद्यार्थीहरूले संविधानसम्बन्धी विविध प्रश्नहरू प्रस्तुत गर्दा वक्ताहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए। उनीहरूले संविधान संवाद कार्यक्रमले केवल परीक्षामा मात्र होइन, व्यावहारिक जीवनमा पनि जिम्मेवार र सचेत नागरिक बन्ने प्रेरणा दिएको बताएका छन्।