लमजुङ– जिल्लाको मध्यनेपाल नगरपालिकाको लगानीमा निर्माणाधीन चर्दीखोला मोटरेवल पुल निर्माण भइरहेको छ। नगरपालिको वडा नं ३ सूर्यपाल र ४ रम्घाको चर्दीबजार जोड्ने चर्दीखोला पुल निर्माण थालिएको हो। कुन्छा–सोतीपसल–दुईपिप्ले सडकखण्ड अन्तर्गत निर्माणधीन पुलको काम १५ प्रतिशत सम्पन्न भएको नगरपालिकाका इञ्जिनीयर उत्तम सुवेदीले बताए।
उनका अनुसार हालसम्म सूर्यपालतर्फको एउटा पिल्लर उठाएको छ भने अर्को पिल्लरको काम, र मेसिनरी वालको काम यतिबेला भइरहेको छ। पुल आगामी असार महिनाभित्रमा सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार रु तीन करोड ७५ लाखको लागत अनुमान रहेकोमा उक्त पुलनिर्माण व्यवसायीले भ्याटसहित दुई करोड ५० लाखमा निर्माण गर्ने सम्झौता गरेको छ। पुल नहुँदा वर्षायाममा सवारी साधनदेखि स्थानीयलाई आवतजावत गर्न समस्या हुँदै आएको छ। पुल निर्माण पश्चात् तनहुँ, पोखरा, काठमाडौँ लगायतका स्थानमा आवतजावतमा सहज हुने नगरप्रमुख रमेशकुमार पाण्डेले बताए।