थाइल्याण्डको दक्षिणपूर्वी तटमा नौसैनिक जहाज डुब्दा ३१ जना बेपत्ता - Chaitanya News
  • 2026-06-03
  • 17:30:18
  • बुधबार,जेठ २०, २०८३
  • थाइल्याण्डको दक्षिणपूर्वी तटमा नौसैनिक जहाज डुब्दा ३१ जना बेपत्ता

    थाइल्याण्डको दक्षिणपूर्वी तटमा नौसैनिक जहाज डुब्दा ३१ जना बेपत्ता

    काठमाडौँ– थाइल्याण्डको दक्षिणपूर्वी तटमा नौसैनिक जहाज डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको शाही थाई नौसैनिकका प्रवक्ताले बताएका छन्।

    एचटीएमएस सुखोथाई नामक जहाजले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा डुबेको जनाइएको छ।

    जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेको शाही नौसैनिक अधिकारीले जनाएका छन्। नौसेनाले सार्वजनिक गरेका तस्वीरहरूमा जहाजले कडा छाल पार गर्ने क्रममा नाटकीय रूपमा एक छेउबाट डुब्न ढल्किरहेको देखाइएको छ।

    शाही थाई नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले बेपत्ता नौसैनिकको खोजि भइरहेको बताए। उनले भने, “हामी अझै पनि हराइरहेका ३१ जनाको खोजी गरिरहेका छौं।”

    ”जहाजको ‘अपरेटिङ सिस्टम’ ले काम गर्न छोडेपछि जहाजले नियन्त्रण गुमाएको थियो,” उनले भने।

    जहाजमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुई वटा हेलिकप्टर, दुई वटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको छ। बिहान ७ बजेदेखि सुरु भएको खोजी तथा उद्धार कार्य जारी रहेको विज्ञप्तिमा जनाइएको छ।

    करिब ११ जना नौसैनिकको बाङ सफान अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४० जनालाई सुरक्षित आश्रयस्थलमा राखिएको छ।