सन्दर्भः ६१औं राष्ट्रिय वाल दिवस २०८२
“वालवालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी”
वालवालिका हाम्रो जीवनका आशा र भरोसाका दीप हुन्। उनीहरू केवल सन्तान होइनन्, हाम्रो सपनाका सजीव प्रतिरूप हुन्। तिनकै आँखामा हाम्रो भविष्य छ, तिनकै मुस्कानमा हाम्रो देशको उज्यालो बिहान। ६१औं राष्ट्रिय वाल दिवसको सन्दर्भमा, यस वर्षको नाराले हामी सबैलाई गहिरो सन्देश दिन्छ—“वालवालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी”।
वालवालिकालाई हेर्दा, हाम्रा मनमा शान्ति र उल्लास आउँछ। हाम्रो आध्यात्मिक चेतनाले पनि उनीहरूलाई भगवानको साक्षातस्वरूप मानेको छ। बालकृष्ण, बालराम, गणेशजस्ता पात्रहरू हाम्रो धार्मिक ग्रन्थमा बालरूपमै पूज्य छन्। त्यसैले, वालवालिकामा लगानि गर्नु भनेको केवल सामाजिक कर्तव्य होइन, धार्मिक आस्था र मानवताको पनि मूल आधार हो।
वालवालिका जन्मदिने आमाबुबाको मात्रै जिम्मेवारीमा सीमित रहनु हुँदैन। जबसम्म राष्ट्र नै उनीहरूको अभिभावकको रूपमा प्रस्तुत हुँदैन, तबसम्म उनीहरूको समग्र विकास असम्भव छ। नेपालको संविधानले पनि वालवालिकालाई विशेष अधिकार प्रदान गरेको छ—शिक्षा, स्वास्थ्य, सुरक्षा, अभिव्यक्ति, र संरक्षणको अधिकार। तर, यिनै अधिकारहरू आज पनि लाखौँ बालबालिकाले प्रयोग गर्न पाएका छैनन् भन्ने वास्तविकता हामी सबैको सामु छ।
देशका धेरै भेगमा अझै पनि वालवालिका कुपोषणको शिकार छन्। पाँच वर्षभन्दा मुनिका थुप्रै बालबालिका पर्याप्त पोषण नपाएर मानसिक र शारीरिक विकासमा पछाडि परिरहेका छन्। यो केवल स्वास्थ्यको संकट होइन, यो देशकै भविष्यको संकट हो। जब साना बालबालिकाको पेट भोकै हुन्छ, तब उनीहरूका सपना पनि अधुरा हुन्छन्। त्यसैले, पोषणमा लगानी गर्नु भनेको केवल उनीहरूको पेट भर्नु होइन, हाम्रो भविष्य सम्हाल्नु हो।
वालबालिकाले संविधानसम्मत र जन्मसिद्ध अधिकार पाउने सुनिश्चितता राज्यको पहिलो जिम्मेवारी हुनुपर्छ। तर वास्तविकता भने असहज छ। गरिबी, अशिक्षा, बालश्रम, बालविवाहजस्ता विकृतिले उनीहरूको अधिकार कुण्ठित बनाइरहेका छन्। यस्तो अवस्थामा केवल नारा र भाषणले केही हुँदैन; व्यवहारिक कदम चाल्नु आवश्यक छ।
वालबालिकाको समुन्नत भविष्यका लागि संस्कारसहितको शिक्षा अपरिहार्य छ। शिक्षाले उनीहरूको बौद्धिक क्षमताको विकास गर्छ, संस्कारले चरित्र निर्माण गर्छ। शिक्षा केवल अक्षर चिनाउने माध्यम होइन, जीवन बुझाउने पथप्रदर्शक हो। यस्तो शिक्षा जसले तिनलाई सक्षम, विवेकी र जिम्मेवार नागरिक बनाउँछ।
वालबालिका प्रेरणा र प्रोत्साहनबाट नै फुल्छन्। एक पटक सकारात्मक प्रेरणा पाए भने, उनीहरूले चमत्कार गर्न सक्छन्। शिक्षक, अभिभावक, समाज र राष्ट्र सबैले उनीहरूको क्षमता पहिचान गरी प्रोत्साहन गर्नुपर्छ।
हामी सबैले बुझ्न जरुरी छ—शुभेच्छुक वर्तमान नै समुज्ज्वल भविष्यको आधार हो। अहिले उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षा र अधिकार सुनिश्चित गर्न नसके भविष्य अँध्यारो हुनेछ।
अन्ततः, ६१औं राष्ट्रिय वाल दिवसको यस अवसरमा हामी सबैलाई हार्दिक शुभकामना! विशेष गरी वालवालिकाहरूलाई विशेष शुभकामना, जो आजका कोपिला हुन् र भोलिका फूल। उनीहरूको उज्यालो भविष्य हाम्रो सबैभन्दा ठूलो जिम्मेवारी हो। वालवालिकामा लगानि गरौँ—शिक्षामा, पोषणमा, सुरक्षामा र संस्कारमा—र सुनिश्चित गरौँ देशको समुज्ज्वल भविष्य।
जय वालवालिका, जय नेपाल🙏