पुस ७ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ - Chaitanya News
  • 2026-05-07
  • 06:44:03
  • बिहिबार,बैशाख २४, २०८३
  • पुस ७ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ

    पुस ७ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ

    काठमाडौं– प्रतिनिधिसभा सदस्यहरुको शपथ बिहीबार हुने भएको छ। शपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने हुन्छ। प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार कुनै सांसदले मातृभाषामा शपथ लिने भए तीनदिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ।

    संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुको विवरण केलाइरहेको छ। सचिवालयले शपथका लागि जेष्ठ सदस्यको विवरण निर्वाचन आयोगसमक्ष माग गरेको थियो।

    निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ।

    राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार तीनजना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको छ। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादुर केसी र राप्रपाका नेता पशुपति शमशेर जबराको उमेर ८० वर्ष पुगेको निर्वाचन आयोगको अद्यावधिक विवरणमा उल्लेख छ।

    ठाकुरको जन्ममिति विसं १९९९ बैशाख २४, केसीको १९९७ माघ २० र जबराको १९९८ वैशाख २५ गते रहेको छ।

    उमेरका हिसाबले यी तीनजनामध्ये केसी जेष्ठ सदस्य हुन्। निर्वाचन आयोगलाई उपलब्ध गराएको विवरण अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महिन्द्रराय यादव हुन्। आयोगको विवरण अनुसार यादवको उमेर ८५ वर्ष पुगेको छ।

    तर, निर्वाचन आयोगले पठाएको विवरण र यादवको नागरिकताको उमेर बाँझिएको छ। त्यसैले नवनिर्वाचित सांसदलाई सपथ खुवाउनेबारे अन्योल देखिएको हो।

    नागरिकताको आधारमा सपथ खुवाउने हो भने चीत्रबहादुर केसी जेष्ठ सदस्य हुन्। केसीले शपथ खुवाउने संभावना छ।

    यादव सपथ खुवाउन अनइच्छुक देखिन्छन्।