बढ्यो विद्युतीय सामग्रीको आयात - Chaitanya News
  • 2026-06-03
  • 17:30:18
  • बुधबार,जेठ २०, २०८३
  • बढ्यो विद्युतीय सामग्रीको आयात

    बढ्यो विद्युतीय सामग्रीको आयात

    काठमाडौं– विद्युत् उत्पादन बढेसँगै नेपालमा विद्युतीय वस्तुको आयात बढ्न थालेको छ। ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले उत्पादन थालेसँगै नेपालमा बिजुलीको पर्याप्तता छ। यो वर्ष राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उक्त आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि भारततर्फ ४०० मेगावाटसम्म बिजुली निर्यात हुन थालेको छ। यससँगै, नेपालमा समेत विद्युतीय वस्तुको प्रयोग बढ्न थालेको हो।

    केही वर्ष अघिसम्म लोडसेडिङले ग्रस्त नेपाली उपभोक्ता यति बेला घरमा विद्युत्बाट चल्ने सामाग्रीहरूको जोहो गर्न थालेसँगै आयात समेत बढ्न थालेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९–८० को ४ महिनाको अवधिमै झन्डै डेढ अर्ब रुपैयाँ बराबरको विद्युतीय घरायसी सामाग्री आयात भएको छ। विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा विदेशबाट १ अर्ब ४७ करोडभन्दा बढीको विद्युत्बाट चल्ने घरायसी वस्तुको आयात भएको हो।

    विभागका अनुसार यति बेला नेपालमा हेयर ड्रायर, आइरन, माइक्रोवेभ ओभन, इन्डक्सन र इन्फ्रारेड चुलो, राइस कुकर, कित्तली, चियारकफि मेकर, टोस्टर, पानी तताउने मेसिन र हिटर लगायतका वस्तुको आयात ह्वात्तै बढेको हो। गत आर्थिक वर्षको ४ महिनाको अवधिमा विदेशबाट ९८ करोड रुपैयाँ बराबरका यस्ता सामाग्री आयात भएका थिए। अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा गत वर्षमा समेत विद्युतीय सामाग्रीको आयात बढेको थियो। खास गरी, माथिल्लो तामाकोसीले गत वर्ष असार २१ देखि उत्पादन थालेसँगै नेपालमा बिजुलीको पर्याप्तता बढ्यो।

    यससँगै, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल लगायतले सार्वजनिक मञ्चहरूमै विद्युत् बढी भएको घोषणा गर्न थाले। फलस्वरूपस् उपभोक्ताहरू भावी दिनमा लोडसेडिङ नहुने बरु विद्युत्को खपत बढाउनु नै चुनौतीपूर्ण भएको भन्दै घरमा प्रयोग हुने विद्युतीय वस्तु जोड्नतर्फ जोड दिए।

    नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले गत वर्षको तुलनामा घरमा प्रयोग हुने विद्युतीय वस्तुको आयात उकालो लागेको बताए । उनले पर्याप्त मात्रामा विद्युत्को उपलब्धता बढेसँगै उपभोक्ताले घरमा विद्युत्बाट चल्ने सामाग्रीको आयात बढिरहेको बताए। ‘गत वर्ष सबै प्रकारका विद्युतीय सामाग्री कूल आयात १ खर्ब १३ अर्बभन्दा बढीको भित्रिएको जनाए। ‘उपभोक्ताहरूमा आयातित एसपीजी ग्यासको सट्टा विद्युतीय सामाग्रीको प्रयोग गर्नुपर्छ भन्ने चेतना वृद्धि भइरहेको छ,’ पौडेलले भने, ‘सरकारले नै निरन्तर विद्युतीय सामाग्रीको प्रयोग गर्न उपभोक्तालाई घचघच्याइरहेको छ।’

    यस्तै, पछिल्लो समय रुस–युक्रेन युद्धका कारणले बढेको पेट्रोलियम पदार्थको मूल्यका कारणले पनि घरायसी सामाग्रीको प्रयोग बढ्दो छ। केही समय अघिसम्म प्रतिसिलिन्डर १६ रुपैयाँमा पाइने एसपीजी ग्यासको मूल्य यति बेला १८ सय रुपैयाँ पुग्दा पनि नेपाल आयल निगम प्रतिसिलिन्डर २०० रुपैयाँ घाटामा छ। सोहीकारण, उपभोक्ताहरू बढेको मूल्यमा एसपीजी ग्यासको सट्टा विद्युतीय सामाग्रीको प्रयोग गर्नतर्फ अग्रसर भएको हुन सक्ने पौडेलको भनाइ छ।