काठमाडौँ– ४४ उपसचिवको सरुवा भएको छ। हिजो (आइतबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई अन्य निकायमा स्थानान्तरण गरिएको छ।
यो कदमले सरुवा प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउने मन्त्रालयको प्रयासलाई झल्काएको मन्त्रालय प्रशासन उच्च स्रोतले जानकारी दिएको छ।
मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थले सरुवा प्रक्रियामा सुधार गर्ने प्रतिबद्धता जनाए पनि कतिपय निर्णयका कारण कर्मचारी र सेवाग्राहीले पूर्ण विश्वास गर्न नसकेको अवस्था थियो। विगतमा क्रमशः सुधार भए पनि मन्त्रालयमा वर्षौंदेखि कार्यरत कर्मचारी यथावत् रहने र अन्य निकायमा महिना दिन नपुग्दै कर्मचारी सरुवा हुने प्रवृत्तिको आलोचना हुँदै आएको थियो। यसलाई सम्बोधन गर्न मन्त्रालयले यो कदम चालेको जनाएको छ। यद्यपि, सरुवा गरिएका कर्मचारीलाई सिंहदरबारभित्रै वा नजिकका निकायमा खटाइएको मन्त्रालय स्रोतले जनाएको छ।