उपप्रधानमन्त्री सिंहले भने: ‘निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रहेर आफ्नो भूमिका बहन गर्नुपर्छ’ - Chaitanya News
  • 2026-05-23
  • 23:43:54
  • शनिबार,जेठ ०९, २०८३
  • उपप्रधानमन्त्री सिंहले भने: ‘निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रहेर आफ्नो भूमिका बहन गर्नुपर्छ’

    उपप्रधानमन्त्री सिंहले भने: ‘निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रहेर आफ्नो भूमिका बहन गर्नुपर्छ’

    काठमाडौँ– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रहेर भूमिका बहन गर्नुपर्ने बताएका छन्।

    आज (आइतवार) २२औं निजामती सेवा दिवस अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उपप्रधानमन्त्री सिंहले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भूमिका बहन गर्नु पर्ने बताए।

    मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नु निजामती सेवाको मुख्य जिम्मेवारी भएको उनको भनाइ छ।

    सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न निजामती कर्मचारीहरू अझ प्रतिबद्ध हुनुपर्नेमा उनले जोड दिए। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरूको वितरण गर्ने तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका अति महत्त्वपूर्ण रहेको बताउँदै उनले भने, ‘शासन व्यवस्थाको मेरुदण्डका रूपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको अभिन्न अंग हो।’

    नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामती सेवाले त्यसअनुरूप आफूलाई समायोजन, अनुकूलन र परिष्कृत गर्नु अपरिहार्य रहेको उनको भनाइ छ।