सफलताका चार चरण:  चाहना – निर्णय – निरन्तरता – दृढसंकल्प - Chaitanya News
  • 2026-05-23
  • 23:43:32
  • शनिबार,जेठ ०९, २०८३
  • सफलताका चार चरण:  चाहना – निर्णय – निरन्तरता – दृढसंकल्प

    सफलताका चार चरण:  चाहना – निर्णय – निरन्तरता – दृढसंकल्प

    सफलता भन्नासाथ हामी धन, पद, प्रसिद्धि वा सम्मानसँग जोड्ने गर्छौं। तर यसको वास्तविक अर्थ के हो भने—स्वयंको क्षमताको चरम उपयोग गरी, जीवनमा सार्थक उपलब्धि हासिल गर्नु। हरेक मानिसको मनमा सफलताको कुनै न कुनै रुपको चाहना हुन्छ। यो प्राकृतिक सत्य हो। चाहना मानवीय चेतनाको मूल प्रेरणा हो।
    तर, संसारको तथ्य के भन्छ? संसारका ५% भन्दा कम व्यक्तिहरूले संसारको अधिकांश आर्थिक, सामाजिक र बौद्धिक स्रोतहरू नियन्त्रणमा लिएका छन्। बाँकी ९५% जनसंख्या सामान्य जीवन बाँचिरहेका छन्। किन? के सबैमा सफल हुने इच्छा थिएन? थियो। तर, तीमध्ये अधिकांशले चाहना पछि के गर्नु पर्छ भन्ने कुरा बुझ्न सकेनन्।
    हामीले सफल हुन चार चरण पार गर्नुपर्छ:
    -चाहना (Desire)
    -निर्णय (Decision)
    – निरन्तरता (Consistency)
    – दृढसंकल्प (Determination)
    यी चार आधार स्तम्भबिना कुनै पनि सपना पूर्ण हुँदैन।
चाहना – सफलता सुरु हुने बिन्दु
सफलताको पहिलो पाइला चाहना हो। सपना देख्नु एउटा मानसिक यात्रा हो, जसले हामीलाई चेतना र प्रेरणाको सुरुवात दिन्छ। हरेक व्यक्ति जीवनमा केही न केही हासिल गर्न चाहन्छ। यही चाहाना सपना रुप लिन्छ।
    एक जना सानो गाउँको बालकले टेलिभिजनमा एक वैज्ञानिकको अन्तरवार्ता हेरेर भन्छ: “म पनि वैज्ञानिक बन्छु।” यही एक साधारण प्रेरणाबाट सुरु भएको चाहानाले उनलाई जीवनमा ठुलो ऊर्जाका साथ अघि बढ्न उत्प्रेरित गर्छ।
    ब्यावहारिक दृष्टान्त:
    नेपालका प्रख्यात शिक्षा उद्धमि उमेश श्रेष्ठको जीवनलाई हेरौं। एक सामान्य शिक्षकका रूपमा सुरुवात गरेका उनी आज निजिक्षेत्रवाट शैक्षिक क्षेत्रको एक प्रेरणादायी नाम हुन्। उनको चाहानाले नै ‘लिटिल एन्जल्स’ जस्ता संस्था निर्माण भयो।
    आध्यात्मिक दृष्टान्त:
    सत्ययुगमा विष्णुको अवतार नरसिंह भगवान बन्नु पनि हिरण्यकश्यपको क्रूरताको अन्त्य गर्ने चाहनाको परिणाम थियो। भगवानले पनि कार्य गर्न चाहेपछि केवल ईच्छाले मात्र पुग्दैन, त्यसका लागि योजना र प्रतिवद्धता चाहिन्छ।
निर्णय – संकल्पको प्रारम्भ
चाहाना भएपछि आउने अर्को कदम हो निर्णय। निर्णय भनेको आफ्नो इच्छालाई व्यवहारमा रुपान्तरण गर्ने प्रक्रिया हो। जुनसुकै सफल व्यक्तिको यात्रा हेर्नुहोस्, उनले एक समय ठोस निर्णय लिएको पाइन्छ – “म यो गर्छु।”
    जुन निर्णयमा दृढता र विकल्पविहिनता हुन्छ, त्यही निर्णय सफलताको मूल आधार हो।
    यदि तपाईं भन्छन् – “म गर्छु… तर अफ्ठ्यारो भयो भने छोडिदिन्छु,” भने त्यो निर्णय होइन, त्यो एक अनुमान हो। तर यदि तपाईं भन्छन् – “म गर्छु, जे सुकै होस्,” भने त्यो निर्णय हो।
    वैज्ञानिक दृष्टान्त:
    थोमस अल्वा एडिसनले बिजुली बल्ब आविष्कार गर्न १००० पटक प्रयास गरे। सोच्नुहोस्, १००० पटक असफल हुँदा पनि उनले “अब म सक्दिन” भनेर निर्णय फेरेका भए आजको संसार कस्तो हुन्थ्यो?
    सामाजिक दृष्टान्त:
    महात्मा गान्धीले दक्षिण अफ्रिकामा रंगभेदको सामना गरेपछि स्वतन्त्रताको संकल्प लिए। त्यही संकल्पले भारतलाई स्वतन्त्र बनायो। उनका विचारहरू नेपाल लगायतका धेरै देशका स्वतन्त्रता आन्दोलनमा प्रेरणाको स्रोत बने।
निरन्तरता – सफलताको आत्मा
कुनै पनि निर्णय सफल हुन निरन्तरता अपरिहार्य हुन्छ। समयको मूल्य बुझ्न सक्ने व्यक्ति नै सफल हुन्छ। एक दिन पढ्ने, अर्को दिन चाडपर्व भन्दै छाड्ने विद्यार्थी, वा एक महिना व्यापारमा मेहनत गर्ने तर अर्को महिना अल्छी गर्ने उद्यमी – यी सबै विफलताका नजिक हुन्छन्।
    व्यावहारिक दृष्टान्त:
    नेपाली साहित्यकार डा. नवराज लम्सालले भनेका छन् – “मैले दिनमा २२ घण्टा काम गरेको छु।” यही निरन्तरताको कारण उनी साहित्यिक जगतमा स्थापित छन्।
    खेलकुद उदाहरण:
    ओल्मपियन दिपक विष्ट डडेल्धुराका ग्रामिण परिवेशवाट ओल्मपिक सम्मको गौरवशाली यात्रा आफैमा एक अनुपम प्रेरणा हो।
    क्रिकेटर सन्दीप लामिछानेको जीवनलाई हेरौं। ग्रामीण क्षेत्रबाट सुरु भएको उनको यात्रा आइपिएलसम्म पुगेको छ, त्यो केवल प्रतिभा मात्र होइन, निरन्तर अभ्यास, अनुशासन र समयको प्रबंधन को परिणाम हो।
    वैज्ञानिक परिप्रेक्ष्य:
    चार्ल्स डार्विनले ‘Theory of Evolution’ बनाउन वर्षौंको गहिरो अध्ययन गरे। यदि उनले बीचमै छाडेका भए आज हामी विकासको सिद्धान्तबाट बञ्चित हुने थियौं।
दृढसंकल्प – अन्तिम र निर्णायक शक्ति
दृढसंकल्प भनेको तपाईंको सपना, निर्णय र अभ्यासलाई समर्पणपूर्वक जोगाउने शक्ति हो। जब तपाईंलाई लाग्छ “अब सकिन्न”, त्यहीबेला तपाईभित्रको दृढसंकल्पले तपाईलाई अगाडि बढाउँछ।
    राजनीतिक दृष्टान्त:
    पृथ्वीनारायण शाहले ५० भन्दा बढी राज्यहरूलाई एकीकृत गर्ने सपना देखे। त्यो सपना मात्र होइन, उनी दृढ थिए। चाहे किल्ला जित्न होस्, युद्ध लड्न होस् वा रणनीति बनाउन—उनले कहिल्यै हार मानेनन्।
    वर्तमान नेपाली उदाहरण:
    उद्यमी विनोद चौधरीले नेपालको सीमित बजारबाट सुरु गरी, आज अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति बनाएका छन्। २०१५ को भूकम्प, आर्थिक नाकाबन्दी, व्यवसायिक आलोचना—यी सबै चुनौतीहरूलाई उनले दृढतापूर्वक सामना गरे।
    अन्तर्राष्ट्रिय दृष्टान्त:
    नेल्सन मण्डेलाले २७ वर्ष जेल जीवन बिताए। उनी चाहन्थे, निर्णय गरे, निरन्तर लागे, र दृढसंकल्पका साथ अघि बढे। उनको संघर्षले विश्वलाई मानव अधिकारको नयाँ परिभाषा दियो ।
    निष्कर्ष: सपना तपाईको; सफलता तपाईको र  जिम्मेवारी पनि तपाईकै।
    सपना सबैले देख्छन्, तर त्यसलाई साकार पार्ने साहस सबैमा हुँदैन। सफलताका यी चार चरण—चाहना, निर्णय, निरन्तरता र दृढसंकल्प—अन्ततः तपाईको आफ्नो जिम्मेवारी हो।
    •चाहना बिना लक्ष्य तय हुँदैन।
    •निर्णय बिना सुरुवात हुँदैन।
    •निरन्तरता बिना मार्ग तय हुँदैन।
    •दृढसंकल्प बिना सफलता सम्भव हुँदैन।
    अन्तिम प्रेरणा:
    “यदि तपाईं आफैंप्रति इमान्दार हुनुहुन्छ, समयप्रति समर्पित हुनुहुन्छ, अनि सपनाप्रति दृढ हुनुहुन्छ भने, संसारको कुनै पनि शक्ति तपाईंलाई सफल हुनबाट रोक्न सक्दैन।”
    तपाईं जित्नको लागि जन्मनुभएको हो।
    अब सोच्ने मात्र होइन, उठ्ने, जाग्ने र जित्ने समय आएको छ।
    शुभकामना!