तिनिधि सभाबाट पारित निजामती सेवा विधेयकमाथि संशोधनकर्तासँगको छलफल सकियो - Chaitanya News
  • 2026-05-24
  • 03:47:14
  • शनिबार,जेठ ०९, २०८३
  • तिनिधि सभाबाट पारित निजामती सेवा विधेयकमाथि संशोधनकर्तासँगको छलफल सकियो

    तिनिधि सभाबाट पारित निजामती सेवा विधेयकमाथि संशोधनकर्तासँगको छलफल सकियो

    काठमाडौँ– प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा विधेयकमाथि संशोधनकर्तासँगको छलफल सकिएको छ।

    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संशोधन दर्ता गराएका सांसदहरूसँग धारणा सुनेपछि अब समितिका सदस्यबीच छलफल सुरु गरेको हो।

    यसअघि विधेयकमाथि राष्ट्रिय सभामा एकल र संयुक्त गरी १५ वटा संशोधनमार्फत १९३ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए।

    बुधबारको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्मा, भुवनबहादुर सुनार, जितजंग बस्नेत, कमलादेवी पन्त, पदमबहादुर परियारलगायतका संशोधनकर्ताले आफ्नो पक्ष राखेका छन्।

    सांसदले विशेष गरी विधेयकको दफा ८२ मा रहेको कुलिङ अफ पिरियडको व्यवस्था कायमै राख्नुपर्नेमा जोड दिए। सांसद विष्णुबहादुर विश्वकर्माले संशोधनकर्तासँग छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको भन्दै समितिमा बहसको औचित्यप्रति प्रश्न उठाए। उनले समय अभाव भएकाले छिटो टुंग्याउन आग्रह गरे।

    सांसद जितजंग बस्नेतले संघीय निजामती सेवा विधेयकलाई विवादित नबनाउन चेतावनी दिँदै दफा ८२ मा सबैलाई मिलेर गम्भीर छलफल गर्नुपर्ने बताए। उनका अनुसार, “२ वर्षको कुलिङ अफ पिरियड जसरी पनि कायम रहनुपर्छ।”

    सांसद पदमबहादुर परियारले विधायकी अधिकार कुण्ठित नहुने तर्क गर्दै केही व्यक्तिको निर्णयमा मात्र कानून निर्माण स्वीकार्य नहुने बताए। उनले प्रतिवेदन अनुसार दफा ५ हटाई २ वर्षको कुलि अफ पिरियड लागू गर्नुपर्नेमा जोड दिए।

    संशोधनकर्तालाई धारणा राख्न दिने चरण सकिएपछि अब समितिका सदस्यबीच दफाबार छलफल सुरु भएको छ। हाल विधेयकको दफा १० का विभिन्न उपदफामा बहस भइरहेको समितिले जनाएको छ।