“कृतज्ञता VS कृत्घनता” - Chaitanya News
  • 2026-05-24
  • 05:02:16
  • शनिबार,जेठ ०९, २०८३
  •  आध्यात्मिक, सामाजिक र वैज्ञानिक विश्लेषण
    -गणेश जोशी, चैतन्य।
    ✦ प्रस्तावना: 
    कृतज्ञता—मानव चेतनाको एउटा दिव्य गुण हो, जसले मनुष्यलाई केवल प्राणी होइन, “सर्वोत्तम प्राणी” बनाउँछ।तर आजको युगमा यो दिव्यता हराउँदै गएको छ।विकासको नाममा भौतिक उन्नति भएको छ तर मानव चेतना गहिरो संकटमा फसेको छ।
    सम्पत्ति छ, विज्ञान छ, प्रविधि छ तर शान्ति छैन, सन्तोष छैन, कृतज्ञ भाव छैन।आज हामी जहाँ छौं, त्यहाँ पुग्नका लागि अनगिन्ती दृश्य-अदृश्य शक्तिहरूले थुप्रै त्याग गरेका छन तर हामी उनीहरूको योगदानलाई सम्झन, आत्मसात गर्न र धन्यवाद दिन सकौ कि सकेनौ?  यदि हामि स्वर्थी भयौ भने  यसले हाम्रो चेतनालाई आक्रान्त बनाउछ ।
    ✦ कृतज्ञता के हो? र किन आवश्यक छ?
    कृतज्ञता भनेको केवल धन्यवाद दिनु मात्र होइन, यो एक गहिरो अनुभूति जसले जीवनको दिव्यता, सम्बन्धको महत्त्व र आत्माको उच्च चेतना उजागर गर्छ। हिन्दू धर्म, बौद्ध दर्शन, इस्लाम वा सवै धर्महरूले कृतज्ञतालाई जीवनको मूल आधार मानेका छन्।
    भगवद्गीता (१७.१५) मा श्रीकृष्ण भन्छन्:
    “मनः प्रसादः सौम्यत्वं मौनमात्मविनिग्रहः।
    भावसंशुद्धिरित्येतत्तपो मानसमुच्यते॥”
    (शुद्ध भावना, शान्त चित्त, आत्मानुशासन—यी सबै मानसिक तप हुन्।)
    र कृतज्ञता नै सबैभन्दा उच्च मानसिक तप हो ।
    ✦ विज्ञानको युगमा चेतनाको चिरहरण।
    हामी “चन्द्रमा” मा पुग्न सफल भयौं।तर हाम्रो मन अन्धकारमा छ।
    आजको मानिसमा शिक्षा छ  तर संस्कारको कमि दोखिन्छ।
    ◉ चेतनाको अभावमा :
    •असन्तोष र चित्कार: सन्तुष्टि नहुन सक्दा जीवनको सौन्दर्य हराउछ ।
    •अरूको सफलतामा पिडा : वर्तमान समाजमा व्यप्त ईर्ष्या, तुलना र आत्महत्या प्रवृत्तिको मूल यही हो।
    •मूल्यको ह्रास: मान्छे सस्तो हुन्छ, सामान महँगो।
    आजको शिक्षाले डिग्री दिन्छ तर दर्शन दिन्न।घरमा सामग्री बढ्छ, आत्मीयता घट्छ।यसको मूल कारण कृतघ्नता हो। हामिले कृतज्ञताको विकास गर्नु छ।
    ✦ सामाजिक विचलन: कृतघ्नताको प्रत्यक्ष परिणाम
    आज समाजमा अनगिन्ती समस्याहरू छन्:
    •शैक्षिक विकृति: विद्यार्थीले शिक्षकलाई तलबका लागि मात्र काम गर्ने कर्मचारी ठान्छन्। शिक्षकले विद्यार्थीलाई नम्बरको धन्धा ठान्छन्।
    •पारिवारिक विघटन: आमाबाबुलाई ‘बोझ’ ठान्ने सन्तान। उत्तरदायित्व नभएका अभिभावक।
    •राजनीतिक लुटतन्त्र: सेवा होइन, शक्तिको होड।
    राष्ट्रप्रेम होइन, स्वार्थी संस्कार विकास ।सबै तिर मूल्य र  चेतनाको पतन भएको छ। चेतना अभावको मुल कारण नै कृतज्ञताको अभाव हो।
    ✦ धर्म, दर्शन र इतिहास: कृतज्ञताको महिमा दृष्टान्त:
    ✅ भगवद्गीता:
    अर्जुन युद्ध गर्न डराउँछन। भगवान श्रीकृष्ण उनलाई सम्झाउँछन्: “तिमी भाग्यमानी छौ, धर्मको युद्ध गर्ने मौका पाएको छौ। यो अवसरप्रति कृतज्ञ बन।”
    ✅ रामायण:
    राम वनवास जानु, सीता गुमाउनु, भाइ छुट्नु: सबैका बाबजुद पनि राम कहिल्यै ईश्वर वा परिस्थिति प्रति कृतघ्न भएनन्। यही कारण उनी ‘मर्यादा पुरुषोत्तम’ हुन्।
    ✅ बुद्ध दर्शन:
    बुद्धले ‘सुखको जीवन’ छोडे र दुखको कारण खोजे। जब उनलाई ज्ञान प्राप्त भयो, उनले पहिला आफ्नो गुरु र संसारप्रति कृतज्ञता प्रकट गरे।
    ✅ नेपालकै परिप्रेक्ष्यमा:
    ऋषि-मुनिहरूले ‘ऋण’ शब्द प्रयोग गर्थे: पितृऋण, देवऋण, ऋषिऋण, समाजऋण। अर्थात्, जीवन आफैंले होइन, अनगिन्ती सहयोगी शक्तिहरूको त्यगले बनेको हो । सवै प्रति कृतज्ञ हुनु पर्छ।
    ✦ चेतनाको जागरण कसरी गर्ने?
    ✔ कृतज्ञता भावको विकासका लागि संसार शिक्षा सुरु गरौं:
    •विद्यालयमा संस्कार सहितको शिेक्षा र कृतज्ञताभावको अभ्यास गरौ ।
    •बच्चाहरूलाई “कसप्रति आभारी छौं?” मनन गर्ने संस्कारको विकास।
    ✔ वेद र विज्ञानको समन्वय गरौं:
    •विज्ञानले शरीरलाई, धर्मले आत्मालाई—दुबैलाई सन्तुलित गरौं।
    ✔ सञ्चार माध्यमले सकारात्मक ऊर्जा फैलाओस्:
    •नकारात्मक समाचारको सट्टा, कृतज्ञता अभियान सुरु गरौं।
    ✔ सामाजिक व्यवहारमा कृतज्ञता देखाऔं:
    •माता-पिता, गुरू र अग्रजहरू प्रति सम्मान गरौं।
    •सहयोगि र शुभेच्छुकलाई  “धन्यवाद” भनौं।
    •शिक्षालाई “पढ्न पाएकोमा” कृतज्ञता प्रकट गरौं।
    ✦ कृतज्ञता नै चेतनाको पुनर्जागरणको मूल आधार हो
    यदि हामी जीवनको सबैभन्दा सरल सत्यलाई बुझ्न सक्यौं भने
    “मैले प्रकृति, परिवार र परिवेशवाट केहि पाएको छु”  र त्यहि कारण  “म बाँचेको छु” भन्ने अनुभूतिलाई झन् गहिरो बनाउँछ।कृतज्ञता छ भने, प्राप्ति सानो भए पनि जीवन ठूलो देखिन्छ।कृतघ्नता छ भने, सम्पत्ति ठूलो भए पनि आत्मा सानो देखिन्छ।आज हाम्रो समाज शिक्षित छ, तर सुसंस्कृत छैन।सजिएको छ, तर सन्तुलित छैन।सुसज्जित छ, तर सन्तुष्ट छैन।हामीलाई पुनः चेतनाको क्रान्ति चाहिएको छ र त्यो क्रान्तिको आरम्भ कृतज्ञताको बीउ रोपेर मात्र सम्भव छ।
    अन्त्यमा…
    🙏 यदि तपाईं यो लेख पढ्दै हुनुहुन्छ भने, तपाईंमा चेतना प्रज्वलित बछ।
    🙏 आजै, तपाईंका जीवनमा भएका सवै कुराप्रति कृतज्ञ बनौं।
    🙏 यो लेख पढ्न साथ कम्तीमा १ जनालाई  ‘धन्यवाद’ भन्न नबिर्सनुहोस्।
    “कृतज्ञता भनेको केवल संस्कार होइन, यो चेतनाको शक्ति हो जसले मानिसलाई दिव्य र भगवानको वास्तविक प्रतिनिधि बनाउँछ।”
    जय चैतन्य जय कृतज्ञता। जय चेतना। जय मानव जीवन ❤