काठमाडौँ– राष्ट्रिय सभाका सांसदले सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनुपर्नेमा एकमत भएका छन्।
आज ९बिहीबार० राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलका क्रममा समितिका सदस्य एवं संशोधनकर्ताले सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका हुन्।
प्रतिनिधि सभाले भने सहसचिवमा खुला प्रतिस्पर्धा गर्न नहुने व्यवस्था सहित विधेयक पारित गरिसकेको छ। जसमा १५ प्रतिशत अन्तर तह र ८५ प्रतिशत बढुवाबाट सहसचिव पदपूर्ति हुनुपर्ने व्यवस्था छ। प्रस्तावित विधेयकमा भने १० प्रतिशत खुला, १० प्रतिशत अन्तरतह र ८० प्रतिशत बढुवाबाट सहसचिव पदपूर्ति गर्ने व्यवस्था थियो।
संशोधनकर्ता सांसद डा९बेदुराम भुसाल, जयन्तीदेवी राई, भुवनबहादुर सुनार, मृगेन्द्रकुमारसिंह यादव, पदम परियार लगायतका सांसदले सहसचिवमा १० प्रतिशत खुला राख्नुपर्नेमा बिहीबारको बैठकमा जोड दिएका छन्।
समितिका सदस्य कृष्णबहादुर रोकाय, सांसद झक्कुप्रसाद सुवेदी, डा। बेदुराम भुसाल, आनन्दप्रसाद ढुंगाना लगायतले सहसचिवमा खुला गर्नुपर्नेमा जोड दिए।
यद्यपि समितिका सभापति तुलसाकुमारी दाहालले भने शुक्रबार बस्ने बैठकमा निर्णय गर्ने गरी तयारी गरेर आउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा मन्त्रालयका सचिवलाई अनुरोध गरेकी छन्।