काठमाडौँ– निजामती कर्मचारीको प्रशिक्षणलाई सङ्ख्यात्मक मात्र नभई गुणस्तरीय बनाउन निर्देशन दिएको छ ।
आज (शुक्रबार) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिषद् बैठकलाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रशिक्षणलाई प्रविधिमैत्री र गुणस्तरीय बनाउन निर्देशन दिएकी हुन्।
प्रशिक्षणमा सेल्फ लर्निङ, इलर्निङ र एआइलाई जोड दिनुपर्ने उनले बताइन्। निजामती कर्मचारीलाई प्रशिक्षणसँगै स्थलगत रूपमा अध्ययन गर्ने वातावरण बनाउनुपर्ने मन्त्री न्यौपानेले बताइन्।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, लोक सेवा आयोगका उपाध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, नेपाल सरकारका मुख्यसचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिवलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
उक्त बैठकमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पञ्चवर्षीय रणनीतिक योजना (२०७९–८०–२०८३–८४) को तेस्रो वार्षिक प्रगति समीक्षा, प्रतिष्ठानको आव २०८१–८२ को वार्षिक प्रगति समीक्षा तथा प्रतिष्ठानको आव २०८२–८३ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको थियो।