काठमाडौं– पूर्व प्रधानन्यायधीश तथा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तिको चर्चा सुरु भएको छ। सत्ता गठबन्धनमा प्रधानमन्त्री र राष्ट्रपतिको भागबण्डा पेचिलो बनेका बेला मंगलबार साँझ रेग्मी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेपछि तरंग पैदा भएको छ।
कांग्रेसले राष्ट्रपतिसहित पहिलो चरणमा प्रधानमन्त्री आफूले गर्न पाउनुपर्ने अडान राखेको छ भने माओवादीले पहिला आफू सरकारको नेतृत्व गर्न चाहेको देखिन्छ। पहिलो चरण कांग्रेसलाई सरकार छाड्नु परे राष्ट्रपति आफूले पाउनुपर्ने माओवादीको अडान छ। उक्त परिदृश्यका बीच देउवाले रेग्मीलाई राष्ट्रपति बनाउन खोजेको चर्चा छ। तर कांग्रेसका नेताहरु राजनीतिक दलबाटै राष्ट्रपति हुने दाबी गर्छन्।
राष्ट्रपतिको चर्चामा रहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्व उपसभापति गोपालमान श्रेष्ठले राजनीति बाहिरको मान्छे राष्ट्रपति बन्ने सम्भावना नरहेको बताए। ‘अहिले त्यो सम्भावना पनि छैन। हुन पनि सक्दैन,’ पौडेलले भने, ‘ गठबन्धनभित्रै राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइन्छ।’
उनका अनुसार अहिलेको समयमा पनि खिलराज रेग्मीजस्ता व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्ने कुनै बाध्यता छैन। अहिलेको परिवर्तनको रक्षाका लागि बनेको गठबन्धनले व्यवस्थालाई संकट हुने काम गर्ने उनको भनाइ छ। यस्तै नेता गोपालमान श्रेष्ठ कांग्रेसबाट आफू राष्ट्रपतिको दाबेदार रहेको भन्दै राष्ट्रपतिमा गैरराजनीतिक व्यक्ति आउन नसक्ने दाबी गर ।
‘अब जनजातिबाट राष्ट्रपति बन्नुपर्छ। त्यसका लागि मेरो योगदान र अनुभव पर्याप्त छ,’ श्रेष्ठले भने, ‘गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने त्यो हल्ला मात्र हो। कुनै सम्भावना छैन।’ कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले राष्ट्रपति बनाउने विषयमा आन्तरिक अभ्यास भइरहेको बताए।
‘राष्ट्रपति बनाउने विषयमा बाहिर धेरै टिकाटिप्पणी गर्नुभन्दा आन्तरिक अभ्यासमै बढी जानुपर्छ,’ उनी भन्छन्, ‘राष्ट्रपति को बन्ने भन्दा पनि कस्तो व्यक्ति राष्ट्रपति बनाउने भन्ने कुरा हो। राष्ट्रपतिको व्यवहार र भूमिकाले गणतन्त्रप्रतिको आकर्षण बढाउने कुरा गर्छ।’
राष्ट्रपति पद प्रधानमन्त्रीको पद भन्दा फरक भन्दै सार्वजनिक बहसमा आउन आवश्यक नरहेको उनको भनाइ छ। महामन्त्री शर्माले भने, ‘प्रधानमन्त्रीको पदमा सार्वजनिक रुपमै बहसमा उत्रिनु स्वाभाविक थियो। त्यसमा गएको पनि हो। तर राष्ट्रपतिबारे संयमतापूवर्क आन्तरिक छलफल गरेर मात्र बोल्दा उचित हुन्छ जस्तो लाग्छ।’
कांग्रेस राष्ट्रपति चयनबारे गठबन्धनका दलहरुसँग धारणा मिलाएर जानुपर्छ भन्ने पक्षमा रहेको शर्माले बताए। ‘गठबन्धनमा रहेका दलका साथीहरुको विश्वासमा साझा दृष्टिकोण निर्माण गरिनुपर्छ भन्ने विषयमा प्रस्ट र प्रयत्नशील छ,’ उनले भने ।
कांग्रेस नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी भने राष्ट्रपति पद नै राजनीतिक पद भएका बताए। ‘राष्ट्रपतिमा राजनीतिक व्यक्ति कि अराजनीतिक व्यक्ति भन्ने प्रश्न नै हुँदैन। त्यो पद नै राजनीतिक पद हो,’ उनले भने।
तर पद राजनीतिक भएपनि योग्यता पुगेको जोसुकै मान्छे राष्ट्रपतिको उम्मेदवार हुने बताए। ‘निर्वाचनको पद्धतिबाट राष्ट्रपति चयन हुने हो। कि निर्विरोध निर्वाचित हुनुपयो। अहिले निर्विरोध निर्वाचित हुने अवस्था मैले देख्दिनँ। राष्ट्रपतिको निर्वाचन हुँदा राष्ट्रपतिको निर्वाचनका लागि योग्यता पुगेको मान्छे उम्मेदवार हुने हो।’ उनका अनुसार संघीय संसदका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशका सदस्यले राष्ट्रपतिमा मतदान गर्छन्। त्यसमा ५१ प्रतिशत मत ल्याउने मान्छे राष्ट्रपति बन्ने उनले बताए।